जनता टाइम्स

११ भाद्र २०८३, बिहीबार २०:२१

नारायणीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुईजना पक्राउ


काठमाडौं, ११ भदौ । विपद्को समयमा नारायणी नदीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

भोटेकोशी नदीमा आएको भीषण बाढीले नारायणीमा बगाएर ल्याएको शवबाट कानको सुनको मुन्द्रा निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चितवन प्रहरीले अनुसन्धान थालेको थियो।

भिडियोका आधारमा अनुसन्धान गर्दा घटनामा संलग्न देखिएका दुई जनालाई बिहीबार भरतपुर महानगरपालिका–१, पोखरा बसपार्कनजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१ लीलाचोकस्थित मामाघरमा बस्दै आउनुभएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चाँदबेला नगरपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–२ पोखरा बसपार्क, सुपारी टोलमा बस्दै आउनुभएका ३८ वर्षीय उमेश चौधरी रहनुभएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा पठाइएको प्रहरीले जनाएको छ।

चितवन प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले विपद्का बेला मृतक तथा पीडितप्रति गरिने कुनै पनि प्रकारको लुटपाट वा अमानवीय गतिविधि सह्य नहुने बताउनुभएको छ।

यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि तत्काल अनुसन्धान गरी कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो।

भोटेकोशी बाढीपछि त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका शवको पहिचान र व्यवस्थापन भइरहेको समयमा मृतकको शरीरबाट गरगहना निकाल्नेजस्ता घटनाले पीडित परिवारमा थप पीडा पुग्ने भन्दै प्रहरीले निगरानी बढाएको छ।

यस्ता लुटपाट, चोरी तथा अन्य अमानवीय गतिविधिबारे जानकारी वा प्रमाण फेला परे तत्काल प्रहरीलाई सूचना दिन चितवन प्रहरीले आग्रह गरेको छ।