जनता टाइम्स

११ भाद्र २०८३, बिहीबार २०:४१

रसुवामा ४० किलोमिटर सडक पूर्ण क्षतिग्रस्त, ४१ पुल बाढीले बगायो


काठमाडौं, भदौ ११ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्णरूपमा क्षतिग्रस्त भएको छ। वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडकका विभिन्न खण्ड बाढीले बगाएको हो।

गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द अवस्थामा रहेको छ। पृथ्वी राजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदो तथा गेग्रानले पुरिएको छ। सडक विभागले लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कामलाई पहिलो प्राथमिकतामा राखेर अघि बढाएको जनाएको छ।

बाढीका कारण ४१ वटा पुल पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। सरकारले ५० मिटरसम्म लम्बाइका सातवटा बेलिब्रिज उपलब्ध गराएको छ। आवश्यकता र सम्भावना हेरेर ती बेलिब्रिज जडान गर्ने काम अघि बढाइएको छ।

भारत र चीन सरकारले पनि आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताइएको छ।

पृथ्वी राजमार्ग सञ्चालनमा प्राथमिकता

सरकारले पहिलो चरणमा पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग पुनः जोड्ने गरी काम अघि बढाएको छ। त्यसका लागि वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ।

वेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेँसीसम्म पुग्न सक्ने अवस्था नरहेको जनाइएको छ।

सडक खुलाउने कामलाई तीव्र बनाउन सरकारले उपलब्ध गराएका १० तथा निजी क्षेत्रबाट उपलब्ध १० गरी २० वटा उपकरण परिचालन गरिएको छ।

क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माण र यातायात सञ्चालनलाई प्राथमिकतामा राख्दै काम तीव्ररूपमा अघि बढाइएको सम्बन्धित निकायले जनाएको छ।