बागलुङ, भदौ १२ । रसुवामा आएको भीषण बाढीपछि बागलुङका १० जनाभन्दा बढी नागरिक सम्पर्कविहीन भएका छन्। उनीहरूको अवस्थाबारे जानकारी नआएपछि परिवार तथा स्थानीय तह चिन्तित बनेका छन्।
बागलुङका केही नागरिकले भने सामाजिक सञ्जाल तथा फोनमार्फत आफूहरू सुरक्षित रहेको जानकारी गराएका छन्। जैमिनी नगरपालिका–८ छिस्तीका प्रहरी सहायक हवल्दार तारा केसीले फेसबुकमार्फत आफू सुरक्षित रहेको जानकारी दिनुभएको छ। उहाँका दाजु झकबहादुरका अनुसार केसी रसुवा जिल्ला प्रहरी कार्यालयमा सुरक्षित हुनुहुन्छ र हालै उहाँसँग कुराकानीसमेत भएको छ।
त्यस्तै, गलकोट नगरपालिका–६ जंगराका २३ वर्षीय भूपेन्द्र रोकामगर पनि बाढीमा फस्नुभएको थियो। वैशाखमा साथीहरूसँग रसुवा पुगेर जलविद्युत् आयोजनामा काम गर्दै आउनुभएका रोकामगरले आमालाई फोन गरी ‘आमा, म प्रहरीसँग छु, मसँग केही छैन’ भनेपछि परिवारले उहाँ सुरक्षित रहेको जानकारी पाएको थियो। तर त्यसयता मोबाइल बन्द रहेकाले पुनः सम्पर्क हुन सकेको छैन।
गलकोट–६ का वडाध्यक्ष रामप्रसाद कँडेलले रोकामगरको अवस्थाबारे परिवार र प्रहरीसँग समन्वय गरी जानकारी लिने प्रयास भइरहेको बताउनुभयो। गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीका अनुसार वडा नम्बर २ का रमेश सुनारसमेत सम्पर्कमा आउनुभएको छैन।
बागलुङका नौ जना सम्पर्कविहीन
रसुवाको स्याफ्रुबेँसीस्थित बुद्ध गेस्ट हाउसमा काम गर्ने ढोरपाटन नगरपालिका–९ मर्माका २० वर्षीय तुलबहादुर सुनार पनि बाढीपछि सम्पर्कविहीन हुनुभएको छ। उहाँ दसैँमा घर फर्किने योजनामा हुनुहुन्थ्यो।
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाका अनुसार बिहीबारसम्म पालिकाका नौ जना नागरिक रसुवामा सम्पर्कविहीन हुनुहुन्छ।
अपर त्रिशूली जलविद्युत् आयोजनामा काम गर्ने पदमबहादुर घर्तीमगर, इन्द्रकुमार विक, भीमबहादुर छन्त्याल, सञ्जय श्रीपाली, विष्णु घर्तीमगर, खडक छन्त्याल, दलप्रसाद बुढा, लाता कामी र भीमबहादुर विक सम्पर्कविहीन हुनुहुन्छ।
उहाँहरू रोजगारीका लागि रसुवा पुग्नुभएको भन्दै अध्यक्ष बुढाले बेपत्ता हुनेको संख्या थपिन सक्ने बताउनुभयो।
खोजीमा प्रहरी र प्रशासन
जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाभरबाट रसुवालगायत प्रभावित क्षेत्रमा पुगेर सम्पर्कविहीन भएका व्यक्तिको विवरण संकलन गरिरहेको जनाएको छ।
बाढीपछि आफ्ना परिवारका सदस्य सम्पर्कविहीन भएपछि आफन्तहरू प्रहरी तथा स्थानीय प्रशासनसँग निरन्तर सम्पर्कमा छन्। प्रहरीले बेपत्ता नागरिकको अवस्थाबारे जानकारी लिन तथा सम्भावित उद्धार र समन्वयका लागि आवश्यक पहल भइरहेको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्