काठमाडौँ, भदौ १३ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि आईएमई ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ ।
आईएमई ग्रुप तथा ग्रुपद्वारा प्रवर्द्धित विभिन्न कम्पनीमार्फत उक्त सहयोग उपलब्ध गराइने जनाइएको छ । ग्लोबल आईएमई बैंक, आईएमई लिमिटेड, आईएमई लाइफ इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आईएमई मोटर्स, अशोक लिलेण्ड, आईएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केबलकार र आईएमई फाउन्डेसनलगायत कम्पनीले सहयोगमा सहभागिता जनाउनेछन् ।
त्यस्तै, आईएमई ग्रुपअन्तर्गतका कम्पनीमा कार्यरत कर्मचारीका तर्फबाट समेत एक दिनको तलब बराबरको रकम उपलब्ध गराइने ग्रुपले जनाएको छ ।
आईएमईले विश्वका विभिन्न मुलुकबाट नेपालमा सहयोग रकम पठाउन निःशुल्क रेमिटेन्स सुविधा उपलब्ध गराएको छ । ग्लोबल आईएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लस र खल्ती ‘बाई आईएमई’ वालेटमार्फत पनि सरकारको कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ ।
आईएमई फाउन्डेसनको समन्वयमा थप राहत तथा जिन्सी सहयोगसमेत उपलब्ध गराउने प्रतिबद्धता ग्रुपले जनाएको छ ।
अकल्पनीय विपद्मा बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावितलाई खाद्यान्न उपलब्ध गराउन तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्न लागिएको आईएमई ग्रुपले जनाएको छ ।
ग्रुपले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय र सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ ।
यसअघि पनि देशका विभिन्न क्षेत्रमा भएका बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्का समयमा आईएमई ग्रुपले आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्