काठमाडौं, भदौ १४ । अविरल वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि देशका विभिन्न मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको तथा जोखिम भएका सडकमा निश्चित समयका लागि सवारी आवागमन रोकिएको जनाएको छ।
सुनकोशी नदीमा जलसतहले सतर्कता तह पार गरेपछि बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था हेरेर सवारी सञ्चालन गरिने प्रहरीले जनाएको छ।
कान्ति लोकपथअन्तर्गत हेटौँडा–ठिंगन–ललितपुर सडकखण्डमा पनि बाढी तथा पहिरोको जोखिमका कारण रातिको समयमा सवारी आवागमन रोकिएको छ। सो खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो।
त्यस्तै, टोखा–छहरे सडकको शिवपुरी–८ स्थित घट्टेखोलामा जोखिम बढेपछि राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९, राजदुवालीमा अविरल वर्षाका कारण झापा–ताप्लेजुङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले सो क्षेत्रमा वैकल्पिक बाटो प्रयोग गर्न सकिने जनाएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५, खाल्टेमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक लामो समयसम्म सञ्चालनमा आउन कठिन हुने देखिएको प्रहरीले जनाएको छ। रसुवाका मुख्य राजमार्गहरू यसअघि नै बाढीका कारण प्रभावित हुँदै आएका छन्।
यसैबीच, नारायणगढ–मुग्लिन सडकखण्ड भने पूर्ण रूपमा सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रसुवा क्षेत्रमा बाढी आएको सूचनापछि केही समय रोकिएका नारायणगढ हुँदै पोखरा तथा काठमाडौं जाने–आउने सवारी साधनलाई अहिले गन्तव्यतर्फ जान अनुमति दिइएको छ।
प्रहरीले बाढी तथा पहिरोको जोखिम रहेका सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन र सम्बन्धित निकायको निर्देशन पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।














प्रतिक्रिया दिनुहोस्