काठमाडौं, भदौ १४ । उत्तरी रसुवाको भोटेकोशी नदीमा बढेको पानीको बहाव घटेसँगै रसुवा, नुवाकोट र धादिङमा ठूलो बाढीको जोखिम तत्कालका लागि टरेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचना आएपछि सतर्कता अपनाइएको भए पनि पछिल्लो अवस्था सामान्य रहेको छ।
जिल्ला प्रहरी कार्यालय रसुवा र नुवाकोटबाट प्राप्त विवरणअनुसार नुवाकोट क्षेत्रमा नदीको जलसतह केही बढे पनि बाढीको अवस्था सामान्य रहेको छ।
महाशाखाले बिहान ५ः४५ बजे अद्यावधिक सूचना जारी गर्दै रसुवा, नुवाकोट र धादिङसम्मका नदी तटीय क्षेत्रमा तत्काल ठूलो बाढीको जोखिम नरहेको जनाएको हो।
यसअघि भोटेकोशी नदीमा ठूलो आवाजसहित बाढी आएको सूचना प्राप्त भएपछि नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको थियो। पछिल्लो अवस्था सामान्य भए पनि जल तथा मौसम विज्ञान विभाग र सुरक्षा निकायले नदीको जलसतह तथा बहावको निरन्तर अनुगमन गरिरहेका छन्।
बाढीको जोखिम घटेसँगै यसअघि रोकिएका सडक तथा सवारी आवागमनसमेत क्रमशः सञ्चालनमा आएका छन्। यद्यपि, नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।














प्रतिक्रिया दिनुहोस्