जनता टाइम्स

१४ भाद्र २०८३, आईतवार १४:४६

भोटेकोशीमा फेरि बाढी आएसँगै त्रिशूलीले बगायो चरौंदीको पुल


काठमाडौं, भदौ १४ । त्रिशूली नदीमा आज पनि बाढी आएको छ। उक्त बाढीले धादिङको चरौंदी र गोरखाको घ्याल्चोक जोड्ने झोलुङ्गे पुल बगाएको हो।

यो पुलले धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ र गोरखाको गण्डकी गाउँपालिका ८ जोड्थ्यो। पुल बगेपछि नदी वारपार गर्न स्थानीयलाई सकस भएको छ।

गण्डकी गाउँपालिका ८ का अध्यक्ष कोकिलबहादुर पुलामी मगरले त्रिशूलीको बाढीले पुल बगाएको बताउनु भयो । ‘झोलुङ्गे पुलको चरौंदीतर्फको टावर भाग बगाएको छ, गोरखातर्फको भागको टावर केही ढल्केको छ,’ मगरले भन्नुभयो ।

आजको बाढीले चरौंदीस्थित सहकारी भवन र विद्यालयमा पनि क्षति पुर्‍याएको स्थानीय बासिन्दाले बताएका छन । गत भदौ १० को बाढीले पुल, सहकारी भवनलगायतमा क्षति पुगेको थिएन।