जनता टाइम्स

१४ भाद्र २०८३, आईतवार २२:११

माथिल्लो त्रिशूली–१ का आफन्तको आक्रोश : ‘कि सास देऊ, कि लाश’


काठमाडौं, १४ भदौ । बाढीका कारण नुवाकोटमा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा फसेका आफन्तको अवस्था पाँच दिनसम्म पनि यकिन हुन नसकेपछि परिवारजनले तत्काल उद्धार र स्पष्ट जानकारी माग गर्दै आक्रोश व्यक्त गरेका छन्।

काठमाडौंको थापाथलीस्थित नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीको कार्यालय पुगेका आफन्तहरूले जीवित भए तत्काल उद्धार गर्न र मृत्यु भएको भए शव उपलब्ध गराउन माग गरेका छन्।

आयोजनाको सुरुङभित्र मात्रै ५ सय ७६ जना कामदार रहेको कम्पनीले जनाएको छ। त्यस्तै, मैलुङस्थित साइट कार्यालयमा रहेका ७५ जनामध्ये केही व्यक्ति पनि सम्पर्कविहीन रहेको बताइएको छ।

आफन्तहरूले पाँच दिनदेखि कम्पनी र सरकारी निकायबाट आश्वासन मात्रै पाएको गुनासो गरेका छन्। उनीहरूले आयोजनामा कार्यरत व्यक्तिहरूको अवस्थाबारे यकिन विवरणसमेत तत्काल सार्वजनिक गर्न माग गरेका छन्।

एक आफन्तले भने, ‘हाम्रा मान्छे जीवित छन् भने उद्धार गर, छैनन् भने लाश देऊ। पाँच दिनदेखि आश्वासन मात्रै सुन्दै आएका छौँ।’

आफन्तका अनुसार बाढी आउनुअघि आयोजनामा कार्यरत केही व्यक्तिले सुरक्षित स्थानतर्फ जान आग्रह गर्दै परिवारलाई फोन गरेका थिए। त्यसपछि सम्पर्कविहीन भएका उनीहरूको अवस्था अझै पत्ता लाग्न नसकेको आफन्तहरूको भनाइ छ।

उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिए पनि सरकारले अनुमति नदिएको कम्पनी पक्षको दाबी छ। कम्पनीका एक कोरियन प्रतिनिधिका अनुसार पाँचवटा हेलिकोप्टर उद्धारका लागि तयारी अवस्थामा थिए।

तर, आफन्तहरूले भने यस्तो विपद्को अवस्थामा सरकार, आयोजना प्रवर्द्धक र निर्माण कम्पनीले एकअर्कालाई जिम्मेवारी पन्छाएर बस्न नमिल्ने बताएका छन्।

उनीहरूले तत्काल आयोजनास्थलमा खोज तथा उद्धार टोली पठाएर सुरुङ र मैलुङ क्षेत्रको अवस्था सार्वजनिक गर्न माग गरेका छन्।

‘हामीलाई आश्वासन होइन, हाम्रो मान्छेको अवस्था चाहिएको छ। जीवित छन् भने सास चाहियो, छैनन् भने लाश चाहियो,’ आफन्तहरूको भनाइ छ।