जनता टाइम्स

१४ भाद्र २०८३, आईतवार २२:२०

पृथ्वी राजमार्ग तत्काल नखुल्ने, त्रिशूलीतर्फ पर्खाल उठाएपछि मात्रै यातायात सञ्चालन


काठमाडौं, भदौ १४ भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीको बहाव बढ्दा सडक कटान भएर कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार कृष्णभीरमा नदीतर्फबाट पर्खाल उठाएर सडकको आधार तयार नगरेसम्म राजमार्ग सञ्चालन गर्न सम्भव नहुने भएको छ।

उहाँका अनुसार पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर र परेवा भीरमा सडक सम्पर्क टुटेको छ। कृष्णभीरमा त्रिशूली नदीको सतह र बहाव स्थिर भएपछि नदीको बेससम्म पुगेर ग्याबिन वाल निर्माण गर्नुपर्ने भएकाले तत्काल सडक सञ्चालन गर्न कठिन रहेको उहाँले बताउनुभयो।

‘कृष्णभीरमा त्रिशूली नदीको तल बेसमा गएर वाल उठाउनुपर्छ। अहिले नै सम्भव छैन। पानीको सतह स्थिर भएपछि मात्रै काम गर्न सकिन्छ,’ महानिर्देशक जैसीले भन्नुभयो।

भीरतर्फको भाग कटान गरेर सडक सञ्चालनमा ल्याउन सम्भव नरहेको उहाँले बताउनुभयो। कृष्णभीरको माथिल्लो भाग पहिरोको उच्च जोखिममा रहेकाले त्यहाँ थप कटान गर्दा पुनः पहिरो जान सक्ने जोखिम रहेको उहाँको भनाइ छ।

त्यसैले नेपाली सेना, नेपाल प्रहरीलगायतका जनशक्ति परिचालन गरी नदीतर्फबाट ग्याबिन वाल भर्दै सडकको आधार निर्माण गर्ने तयारी गरिएको छ। उक्त काम सम्पन्न नभएसम्म कम्तीमा एक–दुई दिन पृथ्वी राजमार्ग बन्द रहने विभागले जनाएको छ।

राजमार्ग अवरुद्ध भएपछि पोखरा तथा पश्चिमी क्षेत्रबाट काठमाडौं आउने सवारीसाधनलाई नारायणगढ–हेटौँडा हुँदै वैकल्पिक मार्गतर्फ डाइभर्ट गरिएको छ।

महानिर्देशक जैसीले तत्कालका लागि हेटौँडा हुँदै बीपी राजमार्ग, कान्ति राजमार्ग तथा त्रिभुवन राजपथ प्रयोग गर्न सकिने बताउनुभयो। ठूला सवारीसाधन तथा ग्यास बुलेटसमेत वैकल्पिक मार्गबाट राजधानी ल्याउन सकिने उहाँको भनाइ छ।

यसैबीच, सडक विभागले रसुवाको धुन्चे क्षेत्रमा सडक खुलाउने कामलाई प्राथमिकतामा राखेको जनाएको छ। अब जनशक्ति तथा स्रोतसाधन बाँडफाँट गरी पृथ्वी राजमार्गसहित अन्य प्रभावित सडकमा समेत काम अघि बढाइने विभागले जनाएको छ।