जनता टाइम्स

१५ भाद्र २०८३, सोमबार ०७:१९

संघीय सरकारको राहत सेनाको ब्यारेकमा, कालो चश्मा लगाका रास्वपाका सांसदहरूको टुर हेलिकप्टरमा : सूर्य थापा


काठमाडौं, भदौ १५ । नेकपा एमालेका नेता सूर्य थापाले भोटेकोशी बाढीपीडितको उद्धार, राहत तथा व्यवस्थापनमा संघीय सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको बताउनुभएको छ। उहाँले प्रभावित नागरिकको उद्धार र राहतमा स्थानीय तह, जनप्रतिनिधि तथा सुरक्षाकर्मीको समन्वय र सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभएको छ।

नेता थापाले संघीय सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै भन्नुभएको छ, संघीय सरकार राहत सेनाको ब्यारेकमा बुझेर थुपार्न र कालो चश्मा लगाएर रास्वपाका असम्बन्धित सांसदहरूको हेलिकप्टर टुर चलाउन व्यस्त, थकित र लखतरान छ।”

उहाँले बागमती प्रदेश सरकार र संघीय सरकारको भूमिकामा समेत ठूलो अन्तर देखिएको दाबी गर्नुभएको छ। बागमती प्रदेशका मुख्यमन्त्री र संघीय सरकारका घण्टी प्रधानमन्त्रीको भूमिका तुलना गर्ने हो भने ९०:१० प्रतिशत हाराहारी देखिन्छ,” उहाँले भन्नुभएको छ।

उद्धार तथा राहतमा प्रभावित पालिका र स्थानीय जनप्रतिनिधिको भूमिकालाई बेवास्ता गर्न नहुनेमा जोड दिँदै नेता थापाले भन्नुभएको छ, “प्रभावित पालिका र जनप्रतिनिधि तथा प्रहरी (जनपथ र सशस्त्र)को जिम्मेवारीपूर्ण संलग्नता बेगरको उद्धार, राहत र व्यवस्थापन कोही माइकालालले गर्न सम्भव छैन।”

बाढीका कारण भएको मानवीय क्षति कम गर्न समयमै दक्ष जनशक्ति परिचालन गर्नुपर्ने उल्लेख गर्दै उहाँले विदेशबाट समेत उद्धार टोली ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ। विदेशबाट दक्ष उद्धार टोली समयमै ल्याएको भए धेरैको ज्यान जोगाउन सकिन्थ्यो,” उहाँले भन्नुभएको छ।

उद्धार कार्यमा संघीय सरकारको नेतृत्व प्रभावकारी हुन नसकेको टिप्पणी गर्दै नेता थापाले सरकारको भूमिकामाथि प्रश्न उठाउनुभएको छ। उहाँले भन्नुभएको छ, सैनिक ब्यारेककेन्द्रित र लक्षित उद्धार पूर्णतः असफल र निस्प्रभावी भएको छ। गैरजिम्मेवार शासनको पीडा पीडित नागरिक र प्रभावित क्षेत्रले खेप्नुपरेको छ।”

उहाँले उद्धार तथा राहतको संवेदनशील समयमा प्रचारमुखी गतिविधिभन्दा प्रभावित नागरिकको जीवनरक्षा र राहत व्यवस्थापनलाई प्राथमिकता दिन सरकारलाई आग्रहसमेत गर्नुभएको छ।