जनता टाइम्स

१५ भाद्र २०८३, सोमबार ०८:३२

चितवनमा पहिचान हुन नसकेका १९९ शव व्यवस्थापन


चितवन, भदौ १५ रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा फेला परेका शवमध्ये सनाखत हुन नसकेका १९९ शव व्यवस्थापन गरिएको छ।

भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जङ्गल क्षेत्रमा आइतबार रातिसम्म ती शव व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार चितवनमा हालसम्म २७२ शव फेला परेका छन्। तीमध्ये १२ शवको सनाखत भइसकेको छ भने बाँकी शवको पहिचान हुन सकेको छैन।

सनाखत हुन नसकेका शव व्यवस्थापन गर्दा डीएनए परीक्षणका लागि नमुना सुरक्षित राखिएको प्रहरीले जनाएको छ। भविष्यमा बेपत्ता व्यक्तिका परिवारसँग डीएनए मिलेको अवस्थामा शव व्यवस्थापन गरिएको स्थानबाट पुनः निकालेर परिवारलाई बुझाउन सकिने गरी आवश्यक संकेत चिह्नसमेत राखिएको छ।

सनाखत भएका शव भने आवश्यक प्रक्रिया पूरा गरी परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ।

हालसम्म फेला परेका २७२ शवमध्ये ११० पुरुष, ६२ महिला, ७ बालक, ६ बालिका र ८७ वटा मानव अवशेष रहेका छन्।

नदी किनारमा थप शव फेला पर्ने क्रम अझै जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खोजी तथा शव व्यवस्थापनमा परिचालन गरिएको छ।

प्रहरीका अनुसार बाढीपछि त्रिशूली र नारायणी नदीको बहावसँगै बगेर आएका शव चितवनका विभिन्न क्षेत्रमा फेला पर्ने क्रम जारी छ।