काठमाडौं, भदौ १५ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएपछि अवरुद्ध सडक तथा यातायात पूर्वाधार पुनः सञ्चालन गर्न वाग्मती प्रदेश सरकार तीव्र रूपमा जुटेको छ। त्यसैक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा आफैँ फिल्डमा खटिएर रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामको अनुगमनसँगै समस्या समाधानमा सक्रिय हुनुभएको छ।
मुख्यमन्त्री थापा आज बिहानैदेखि चोगटे–सरमथली–जीरोकिलो हुँदै रसुवा जाने वैकल्पिक सडक निर्माणस्थलमा पुगेर डोजरसहित परिचालित टोलीसँगै कामको अवस्थाबारे जानकारी लिँदै अवरोध तथा समस्या समाधानमा जुट्नुभएको हो।
बाढीले मुख्य सडक तथा विभिन्न स्थानका यातायात संरचनामा क्षति पुर्याएपछि रसुवातर्फको आवागमन सहज बनाउन वैकल्पिक सडकलाई तत्काल सञ्चालनयोग्य बनाउने काम अघि बढाइएको हो। निर्माणका क्रममा देखिएका प्राविधिक तथा अन्य समस्या तत्काल समाधान गर्दै कामलाई निरन्तरता दिइरहेको मुख्यमन्त्री थापाले जानकारी दिनुभएको छ।
वैकल्पिक सडक निर्माणसँगै सडकलाई थप फराकिलो, सुरक्षित र सहज बनाउने कामसमेत तीव्र पारिएको छ। बाढीबाट प्रभावित क्षेत्रमा आवतजावत गर्ने नागरिकलाई कठिनाइ नहोस् तथा राहत, उद्धार र अत्यावश्यक सामग्रीको ओसारपसार सहज होस् भन्ने उद्देश्यले सडक विस्तार र स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको प्रदेश सरकारले जनाएको छ।

भदौ १० गते आएको भोटेकोशीको बाढीले रसुवा र नुवाकोटका विभिन्न बस्ती तथा बजारमा ठूलो क्षति पुर्याएको थियो। बाढीको चपेटामा परेर सडक, पुल, जलविद्युत् आयोजना, घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ। कतिपय स्थानमा सडक सम्पर्क नै विच्छेद हुँदा स्थानीयवासीको दैनिक जीवन प्रभावित हुनुका साथै राहत तथा उद्धार सामग्री पुर्याउनसमेत कठिनाइ भएको छ।
बाढीले धादिङलगायतका आसपासका क्षेत्रमा समेत सडक र पूर्वाधारमा क्षति पुर्याएपछि प्रभावित क्षेत्रलाई पुनः सडक सञ्जालसँग जोड्ने चुनौती थपिएको छ। यस्तो अवस्थामा वैकल्पिक सडक निर्माणलाई तीव्रता दिँदै मुख्यमन्त्री स्वयं फिल्डमा पुगेर कामको नेतृत्व लिनुलाई प्रदेश सरकारको सक्रियताको रूपमा हेरिएको छ।
मुख्यमन्त्री थापाले प्रभावित नागरिकको सहज आवतजावत र सुरक्षित यात्रालाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभएको छ। “जनताको सहज यात्रा र सुरक्षित भविष्यका लागि काम निरन्तर जारी छ,” उहाँले भन्नुभएको छ।
बाढीले भत्काएका संरचना तत्काल पुनःनिर्माण गर्दै प्रभावित क्षेत्रलाई सामान्य अवस्थामा फर्काउने चुनौतीबीच प्रदेश सरकारले सडक सम्पर्क पुनःस्थापनालाई तीव्रता दिएको हो। मुख्यमन्त्री थापा स्वयं निर्माणस्थलमा पुगेर डोजर तथा प्राविधिक टोलीसँगै काम अघि बढाउन सक्रिय भएपछि वैकल्पिक मार्ग छिटो सञ्चालनमा आउने अपेक्षा गरिएको छ।














प्रतिक्रिया दिनुहोस्