जनता टाइम्स

१५ भाद्र २०८३, सोमबार १३:२०

भोटेकोशी बाढी संकट : प्रधानमन्त्रीले लिए सेना प्रमुखसँग ब्रिफिङ, अन्य सुरक्षा प्रमुखसँग पनि छलफल गर्दै 


काठमाडौं, भदौ १५ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उत्पन्न संकट समाधान तथा प्रभावित नागरिकको खोजी, उद्धार, राहत र उपचारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री वालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गर्नुभएको छ।

प्रधानमन्त्री शाहले आज प्रधान सेनापति अशोकराज सिग्देलसँग रसुवा बाढी प्रभावित क्षेत्रमा हालसम्म भएका खोजी तथा उद्धार, राहत वितरण र घाइतेको व्यवस्थापन लगायतका विषयमा विस्तृत ब्रिफिङ लिनुभएको उहाँकाे सचिवालयले जनाएकाे छ । 

रक्षामन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा उद्धारका बाँकी सबै कामलाई उच्च प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिनुभएको छ। प्रभावित क्षेत्रमा अझै उद्धार तथा खोजीको आवश्यकता रहेकाले सुरक्षा संयन्त्रलाई थप प्रभावकारी ढंगले परिचालन गर्न उहाँले जोड दिनुभएको हो।

प्रधानमन्त्री शाहले त्यसपछि सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग समेत बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार र सुरक्षा व्यवस्थापनबारे ब्रिफिङ लिनुहुने भएको छ। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै बाढी प्रभावित क्षेत्रको सुरक्षा, उद्धार तथा राहत व्यवस्थापनबारे जानकारी लिने कार्यक्रम रहेको छ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले बाढी प्रभावित नागरिकको जीवनरक्षा, घाइतेको निःशुल्क उपचार तथा राहत वितरणमा कुनै पनि कसर बाँकी नराख्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ।

उहाँले सम्भावित थप जोखिमलाई समेत ध्यानमा राख्दै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई २४ सै घण्टा उच्च सतर्कताका साथ परिचालन गर्न निर्देशन दिनुभएको छ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीका कारण सडक, पुल, बस्ती तथा अन्य भौतिक संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाको चुनौती थपिएको छ।

बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा र तत्कालीन संकट व्यवस्थापनलाई प्राथमिकतामा राख्दै प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूसँग चरणबद्ध छलफल अघि बढाउनुभएको हो। सरकारले उद्धार तथा राहतका बाँकी कामलाई थप तीव्रता दिँदै प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने जनाएको छ।