काठमाडौं, भदौ १५ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र फसेको आशङ्का गरिएका मानिसको खोजीमा खटिएको नेपाली सेनाको उद्धार टोली रित्तै फर्किएको छ।
सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशङ्का भएपछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहितको उद्धार टोली खोजीमा परिचालन गरिएको थियो।
उद्धार टोलीले सुरुङको भित्री भागमा रहेको अन्तिम बिन्दुसम्मै पुगेर विस्तृत खोजी गरेको थियो। सुरुङभित्र ड्रोनसमेत उडाएर सम्भावित स्थानमा खोजी गर्दा पनि कुनै मानवीय उपस्थिति फेला नपरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सुरुङको अन्तिम बिन्दुसम्म पुग्दा समेत मानिस भेटिन नसकेपछि त्यहाँ थप खोजी आवश्यक नरहेको निष्कर्ष निकाल्दै नेपाली सेनाको टोलीले खोजी कार्य सम्पन्न गरेको हो।
मानिस सुरुङभित्र नरहेको पुष्टि भएपछि सेनाको उद्धार टोली त्यहाँबाट रसुवाको सदरमुकाम धुन्चे फर्किएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
भोटेकोशीमा आएको बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीले जलविद्युत् आयोजना, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा खोजी तथा उद्धार अभियान जारी छ। बाढीपछि आयोजनाका संरचनामा समेत क्षति पुगेकाले सुरुङभित्र कामदार फसेको हुनसक्ने आशङ्कामा सेनाको टोली परिचालन गरिएको थियो।














प्रतिक्रिया दिनुहोस्