काठमाडौं, भदौ १५। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट भएको क्षति तथा विपद् प्रतिकार्यका विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउनुभएको छ।
लामिछानेले सोमबार राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्दै बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत तथा पुनर्स्थापनाको अवस्थाबारे जानकारी गराउनुभएको हो। भेटमा विपद्का कारण भएको जनधनको क्षति र प्रभावित नागरिकले तत्काल भोगिरहेका समस्याबारे समेत छलफल भएको बताइएको छ।
लामिछानेले विपद्पछिको अवस्थाको प्रत्यक्ष जानकारी संकलन तथा सरकारी निकायबाट भइरहेका कामबारे बुझ्ने क्रममा राष्ट्रपतिसँग भेट गर्नुभएको हो।
यसअघि सोमबार नै उहाँले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गर्नुभएको थियो। प्रधानमन्त्रीसँगको भेटमा भोटेकोशी बाढीपछि सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत अभियान र पछिल्लो अवस्थाबारे जानकारी लिनुभएको थियो।
प्रधानमन्त्रीसँगको भेटपछि लामिछाने शीतल निवास पुग्नुभएको हो। पछिल्ला दुई भेटलाई उहाँले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा विपद् व्यवस्थापनका लागि भइरहेका प्रयासबारे उच्च तहमा जानकारी आदानप्रदान गर्ने क्रमका रूपमा लिनुभएको छ।














प्रतिक्रिया दिनुहोस्