जनता टाइम्स

१६ भाद्र २०८३, मंगलवार ०७:२१

रसुवाका बाढीपीडितको उद्धार र व्यवस्थापन अहिलेको मुख्य प्राथमिकता : मुख्यमन्त्री किरण थापा


काठमाडौं, भदौ १६ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवामा बाढीबाट भएको क्षति अकल्पनीय रहेको बताउँदै प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा व्यवस्थापनलाई प्रदेश सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ।

रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन आयोजित सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नेदेखि आवश्यक राहत सामग्री उपलब्ध गराउनेसम्मका काममा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

मुख्यमन्त्री थापाले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै सरकारी संयन्त्र परिचालन गरिएको जानकारी दिनुभयो। उहाँले प्रभावित नागरिकको जीवनरक्षा र सुरक्षित व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

उहाँले उद्धार तथा राहतका लागि आवश्यक जनशक्ति, उपकरण, खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सम्बन्धित निकायलाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिनुभएको छ। बाढीबाट प्रभावित नागरिकले तत्काल आवश्यक सेवा र राहत पाउने वातावरण बनाउन संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँले बताउनुभएको छ।

मुख्यमन्त्री थापाको प्रमुख आतिथ्यता तथा रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारको अध्यक्षतामा बसेको बैठकले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत वितरणलाई तीव्रता दिने निर्णय गरेको छ। साथै, अवरुद्ध सडक तथा यातायात सञ्चालनमा ल्याउने, खाद्यान्नलगायत अत्यावश्यक राहत सामग्रीको व्यवस्थापन गर्ने र जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरिएको छ।

बैठकले बाढीबाट क्षतिग्रस्त सडक तथा पूर्वाधारको तत्काल मर्मतसम्भार गरी यातायात सञ्चालनमा ल्याउने निर्णय गरेको छ। त्यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी आवश्यक स्रोत–साधन परिचालन गरिने भएको छ।

प्रभावित क्षेत्रमा राहत वितरणलाई व्यवस्थित बनाउन संघीय सरकार मातहतका कार्यालयबाट राहत सामग्री संकलन गर्ने तथा प्रदेश सरकारमार्फत आवश्यक सामग्रीको व्यवस्थापन गरी स्थानीय तहसँगको समन्वयमा वडास्तरसम्म वितरण गर्ने व्यवस्था मिलाउने निर्णयसमेत बैठकले गरेको छ।

त्यस्तै, बाढीका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन तथा पहिचानका लागि सुरक्षा निकाय र सम्बन्धित स्थानीय तहलाई परिचालन गर्ने निर्णय भएको छ। शव व्यवस्थापनका लागि आवश्यक स्थान तथा अन्य व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्ने निर्णय गरिएको छ।

बाढीबाट क्षतिग्रस्त सडक तथा पुलको तत्कालीन मर्मतसम्भारदेखि दीर्घकालीन पुनःनिर्माणसम्मका काम सम्बन्धित निकायले प्राथमिकताका साथ अघि बढाउने निर्णय गरिएको छ। जोखिमयुक्त क्षेत्रमा थप क्षति हुन नदिन आवश्यक सावधानी अपनाउने तथा सम्भावित जोखिमका क्षेत्रमा सुरक्षा र पूर्वतयारीका उपाय प्रभावकारी बनाउने निर्णयसमेत बैठकले गरेको छ।

बैठकमा प्रतिनिधिसभा सदस्य मोहन आचार्य र बब्लु गुप्ता, बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री एवं प्रदेशसभा सदस्य प्रभात तामाङ, प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामे, जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक पौडेल, गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्वु तामाङ, उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्याल, आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ, नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर गलान, प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियार, कालिका गाउँपालिकाका वडाध्यक्ष सन्दीप पौडेल तथा पूर्वाधार विकास कार्यालय रसुवाका प्रमुख रविन महर्जनलगायतको सहभागिता थियो।

बैठकमा सुरक्षा निकायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको समेत सहभागिता रहेको थियो।