जनता टाइम्स

१६ भाद्र २०८३, मंगलवार १०:०३

बाढी पीडितलाई सहयोग गरेको किर्ते भौचर बनाउने रास्वपा कार्यकर्ता पटके अभियुक्त


रामेछाप, भदौ १६ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको नक्कली भौचर (Transaction Slip) बनाई सामाजिक सञ्जालमा पोस्ट गरेको अभियोगमा पक्राउ परेका  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गोकुलगङ्गा गाउँपालिकाका सहसचिव भगवान कार्कीपटेक अभियुक्त भएकाे पुष्टि भएकाे छ । 

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार कार्कीले भदौ १३ गते बिहान ०७:३८ बजे प्रधानमन्त्री विपद् उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ जम्मा गरेको भन्दै Chat GPT को प्रयोग गरी eSEWA को नक्कली Transaction Slip बनाई फेसबुकमा पोस्ट गरेका थिए।

अनुसन्धानका क्रममा उनले उक्त नक्कली भौचर तयार पार्न Chat GPT लाई पटक-पटक गैरकानूनी निर्देशन (Illegal Instruction) दिएको र सामाजिक सञ्जालमा पोस्ट गरेको QR Code समेत स्क्यान हुन नसकेको प्रहरीले जनाएको छ।

गोकुलगंगा गाउँपालिका वडा नं. २ बस्ने ३२ वर्षीय कार्कीलाई प्रहरीले लिखत कीर्ते र विद्युतीय अपराध (Cyber Crime) सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

पक्राउ परेका कार्की यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रहेका पटके अभियुक्त हुन्। प्रहरीको Criminal Record System (CRS) अनुसार उनी विरुद्ध २०७३ कात्तिक १० गते बा.३ ख २०३९ नम्बरको बसमा तोडफोड गरेको अभियोगमा प्रहरी वृत्त बानेश्वर, काठमाडौंबाट केही सार्वजनिक अपराध कसूरमा मुद्दा चलेको पाइएको छ।

रामेछाप जिल्ला अदालतबाट पहिलो पटक ७ (सात) दिनको म्याद थप अनुमति लिएर प्रहरीले यस घटनाबारे थप अनुसन्धान जारी राखेको छ।