जनता टाइम्स

१६ भाद्र २०८३, मंगलवार १०:१८

एमाले महासचिव शंकर पोखरेलको प्रश्न : रवि र बालेनले आफ्ना कमजोरीबाट पाठ सिकेको खोइ ?


काठमाडौं, भदौ १६ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुक गम्भीर महाविपद्को अवस्थामा रहे पनि सरकारले प्रभावकारी संवाद, समन्वय र सहकार्यलाई प्राथमिकता दिन नसकेको टिप्पणी गर्नुभएको छ।

महासचिव पोखरेलले विपद्का कारण पीडामा रहेका नागरिकले सरकारको कामबाट ठोस परिणाम पाउन नसकेको दाबी गर्नुभएको हो। उहाँले यस्तो संवेदनशील अवस्थामा समेत सत्ता–समर्थकहरू सामाजिक सञ्जालमा ‘भ्युज’ र चर्चा बटुल्ने गतिविधिमा केन्द्रित भएको आरोप लगाउनुभएको छ।

उहाँले महाविपद्को एक साता बितिसक्दा पनि युवा नेताहरू रवि र बालेनले आफ्ना कमजोरीबाट पाठ सिकेको नदेखिएको भन्दै प्रश्नसमेत गर्नुभएको छ।

पोखरेलले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, “मुलुक गम्भीर महाविपद्मा छ, यस्तो संवेदनशील अवस्थामा पनि सरकार न संवादमा देखिएको छ, न त समन्वय र सहकार्यमा नै अग्रसरता देखाएको छ।”

उहाँका अनुसार विपद्को समयमा राज्यका सबै पक्षबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक हुन्छ। तर पीडित नागरिकले तत्काल राहत तथा उद्धारको ठोस अनुभूति गर्न नसकेको उहाँको भनाइ छ।

सामाजिक सञ्जालमा देखिएको गतिविधिप्रति असन्तुष्टि जनाउँदै उहाँले भन्नुभएको छ, पीडामा रहेका जनताले कामको ठोस परिणाम पाउन सकेका छैनन्, तर दुःखद् कुरा सत्ता–समर्थकहरूको सामाजिक सञ्जालमा ‘भ्युज’ र चर्चा बटुलिने खेती भने मौलाएको छ।”

पोखरेलले विपद्को परिस्थितिमा राजनीतिक नेतृत्वले प्रचारभन्दा जनताको पीडा सम्बोधन र प्रभावकारी व्यवस्थापनमा ध्यान दिनुपर्ने धारणा राख्नुभएको छ। उहाँले एक साता बितिसक्दा पनि रवि र बालेनजस्ता युवा नेताहरूले विगतका कमजोरीबाट पाठ सिकेको खोइ भन्दै प्रश्न उठाउनुभएको हो।