जनता टाइम्स

१६ भाद्र २०८३, मंगलवार १३:२०

बाढी प्रभावित क्षेत्रमा उद्धार अभियान तीव्र बनाइएको नेपाली सेनाको दाबी, टनेलमा विदेशी विज्ञसहितको संयुक्त टोली परिचालित


काठमाडौं, भदौ १६ । नेपाली सेनाले बाढी तथा विपद्बाट प्रभावित क्षेत्रमा हवाई, जमिन र टनेलमार्फत खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको जनाएकाे छ। 

सेनाले चिलिमे, लाङटाङ, अपर त्रिशूली–१, त्रिशूली–३ए र त्रिशूली–३बी जलविद्युत् आयोजनाका टनेलमा विदेशी विज्ञसहितको संयुक्त टोली परिचालन गरी खोज तथा उद्धार गरिरहेको जनाएको छ।

चिलिमे हाइड्रोको टनेलमा उद्धार टोली करिब ५० मिटरभित्र प्रवेश गरी खोजी गरेको छ। त्यस्तै, लाङटाङ हाइड्रोमा करिब १५० मिटर र अपर त्रिशूली–१ मा करिब २०० मिटरसम्म टोली प्रवेश गरी खोजी तथा उद्धार कार्य गरेको सेनाले जनाएको छ।

त्रिशूली–३एमा टनेलभित्रको पानी निकाल्ने काम भइरहेको छ। टनेल हेड फेला परेपछि कम्प्रेसरमार्फत हावा पठाउने कामसमेत भइरहेको छ। तीनवटा एक्स्काभेटर प्रयोग गरी पछाडितर्फको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ भने रक ब्रेकरको प्रयोगबाट टनेलभित्र प्रवेश गर्ने स्थान बनाउन ढुंगा फुटाउने काम भइरहेको नेपाली सेनाले जनाएकाे छ।

त्रिशूली–३बीमा पनि विज्ञसहितको टोली परिचालन गरी टनेलमा प्रवेश गर्ने द्वार पहिचान गरेर एक्स्काभेटरको सहयोगमा खन्ने काम भइरहेको सेनाले जनाएको छ।

सेनाका अनुसार बाढीपछिको तत्काल उद्धारका क्रममा विभिन्न जलविद्युत् आयोजनाबाट २७९ जनालाई जीवित उद्धार गरिएको थियो उद्धार गरिएकामध्ये रसुवागढीबाट २, अपर त्रिशूली–१ बाट ३३, अपर त्रिशूली–३एबाट २२१, अपर त्रिशूली–३बीबाट २, मैलुङबाट ९, नुवाकोट सौर्य विद्युत्बाट ४, त्रिशूली जलविद्युत्बाट ३ र देवघाट जलविद्युत्बाट ५ जना रहेका छन्।

यसैगरी, प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्तीमा नेपाली सेनाले पैदल गस्ती गर्दै स्थानीयसँग अवस्था बुझ्ने र उद्धारको आवश्यकता मूल्याङ्कन गर्ने कार्य गरिरहेको छ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा ९ हजार २०० भन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन गरिएको सेनाले जनाएको छ। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने तथा आपत्कालीन उपचारलगायतका कार्य गरिरहेका छन्।

बाढी तथा विपद्बाट प्रभावित क्षेत्रमा संक्रमण फैलिन नदिन सेनाले विभिन्न स्थानमा निसंक्रमण (डिसइन्फेक्सन) कार्यसमेत अघि बढाएको छ। धुन्चे बजार, श्री नं. १ सैन्य तालिम केन्द्र, त्रिशूली, देवघाट, पृथ्वीचन्द्र अस्पताल, परासी तथा सुनवल नगरपालिका–४ स्थित मुलपानी सामुदायिक वनलगायतका क्षेत्रमा डिसइन्फेक्सन गरिएको सेनाले जनाएको छ। अन्य प्रभावित स्थानमा स्थानीय तहसँग समन्वय गरी यस्तो कार्य अघि बढाइने सेनाको भनाइ छ।