काठमाडौं, भदौ १६ । सामाजिक अभियन्ता दुर्गा प्रसाईँले बाढी, पहिरो तथा सुरुङ दुर्घटनामा परेका नागरिकको उद्धार र राहतमा सरकारको भूमिका प्रभावकारी हुन नसकेको भन्दै तीव्र असन्तुष्टि व्यक्त गर्नुभएको छ।
प्रसाईँले सामाजिक सञ्जालमार्फत ‘सरकार हराएको सूचना’ भन्दै विपद्का बेला प्रभावित नागरिकले राज्यको उपस्थिति अनुभूति गर्न नसकेको टिप्पणी गर्नुभएको हो।उहाँले भन्नुभएको छ, “जनता बाढी र पहिरोको चपेटामा परेर रातभर छाप्रो र रुखमा गुहार मागिरहेका छन्, तर सरकार कता छ ? फेसबुकमा २ मिटर लामो स्ट्याटस लेख्दैमा सरकारको दायित्व सकिन्छ ?”
उहाँले विपद्का बेला सरकारले नियमित पत्रकार सम्मेलनमार्फत नागरिकलाई आधिकारिक जानकारी दिनुपर्ने बताउँदै प्रश्न गर्नुभएको छ, “कहाँ छ दैनिक पत्रकार सम्मेलन ? कहाँ छ जनतालाई दिइने आधिकारिक जानकारी? ”
सरकारसँग पर्याप्त आर्थिक स्रोत हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा राहत तथा उद्धार प्रभावकारी हुन नसकेको उहाँको आरोप छ। “सरकारको खातामा अरबौँ रुपैयाँ थुप्रिएर बसेको छ, तर टिमुरे र बेत्रावतीका पीडितहरू आज पनि भोकभोकै टोलाइरहेका छन्, उद्धारमा चरम ढिलाइ भइरहेको छ,” प्रसाईँले भन्नुभएको छ।
उद्धारमा खटिएका सुरक्षाकर्मीको अवस्थाप्रति समेत उहाँले चिन्ता व्यक्त गर्नुभएको छ। “आफ्नो ज्यान जोखिममा राखेर दिनरात उद्धारमा खटिने हाम्रा राष्ट्रसेवक सुरक्षाकर्मीहरू काँचो चाउचाउ र पानीको भरमा काम गर्न बाध्य छन्,” उहाँको भनाइ छ।
त्यस्तै, राहत वितरणका नाममा प्रचारमुखी गतिविधि भइरहेको बताउँदै उहाँले भन्नुभएको छ, “सत्ताका प्रियजनहरू २/४ पोका चाउचाउ र भुजिया हातमा लिएर फोटो सेसन गर्दै ‘राहत बाँडेको’ नौटङ्की गरिरहेका छन्।”
सुरुङभित्र ६ दिनदेखि नागरिकहरू फसेको विषयलाई गम्भीर रूपमा उठाउँदै प्रसाईँले राज्यको उद्धार संयन्त्रप्रति प्रश्न गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “६ दिनदेखि सुरुङको अँध्यारो र निसासिँदो परिस्थितिभित्र हाम्रा दाजुभाइ-दिदीबहिनी सास फेर्न सङ्घर्ष गरिरहेका छन्। ६ दिनसम्म त्यो अँध्यारोभित्र अड्किएका आफ्नै नागरिकको चीत्कारले राज्यको कान किन ठाडो भएन ?”
उहाँले उद्धारको गति सुस्त भएको भन्दै थप प्रश्न गर्नुभएको छ, “उद्धारको गति यति ढिलो किन ? के सत्ताको कुर्सी र कालो चस्माले जनताको जीवनभन्दा बढी मोल राख्छ ?”
राजनीतिक विषयभन्दा विपद्मा परेका नागरिकको उद्धारलाई प्राथमिकता दिन आग्रह गर्दै प्रसाईँले भन्नुभएको छ, “यस्तो महाविपत्तिको घडीमा मुख्य मुद्दाबाट ध्यान मोड्न बन्द गर्नुस् ! पहिले सुरुङभित्र छटपटाइरहेका र बाढी-पहिरोमा परेका जनता बचाउनुस् !”
प्रधानमन्त्रीलाई लक्षित गर्दै उहाँले राज्यका सबै स्रोतसाधन तत्काल परिचालन गर्न आग्रह गर्नुभएको छ। “कालो चस्मा फुकाल्नुस् प्रधानमन्त्रीज्यू ! जनता चाउचाउ र फोटो सेसनको भरमा होइन, वास्तविक राहत र उद्धारको पर्खाइमा छन्,” उहाँले भन्नुभएको छ।
सुरुङमा फसेका नागरिकको उद्धारका लागि आधुनिक प्रविधिसहित सम्पूर्ण राज्यशक्ति परिचालन गर्नुपर्ने तथा उद्धारपछि प्रभावित नागरिकको उचित व्यवस्थापन गर्नुपर्ने उहाँको माग छ। उहाँले भन्नुभएको छ, “सुरुङभित्र अड्किएका नागरिकलाई बाहिर निकाल्न आधुनिक प्रविधि, सम्पूर्ण राज्यशक्ति, स्रोतसाधन तत्काल झिक्नुस्, अनि उद्धार गरिएका नागरिकलाई खुल्ला आकाशमुनि चिसो भुईँमा छाड्ने काम बन्द गरियोस् ।”
प्रभावित नागरिकका लागि त्रिपाल, खाद्यान्न, ओढ्ने–ओछ्याउने कपडा र औषधिको तत्काल व्यवस्था गर्नुपर्नेमा जोड दिँदै प्रसाईँले अन्त्यमा सरकारलाई प्रचारभन्दा काममा केन्द्रित हुन आग्रह गर्नुभएको छ। उहाँको भनाइ छ, “प्रचारप्रसारको नौटङ्की बन्द गर, वास्तविक धरातलमा ओर्लेर काम गर !”














प्रतिक्रिया दिनुहोस्