काठमाडौं, भदौ १६ । नेकपा (एमाले) संघीय संसदीय दलले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि भइरहेको खोज, उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउन सर्वदलीय विशेष संसदीय समिति गठनका लागि पहल गर्ने निर्णय गरेको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टी उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा मगरको अध्यक्षतामा बसेको एमाले संसदीय दलको छैटौँ बैठकले बाढीबाट उत्पन्न परिस्थितिको समीक्षा गर्दै यस्तो निर्णय गरेको हो।
बैठकलाई सम्बोधन गर्दै नेता थापाले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनामा संसदीय दलले थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बत्ताउनुभयो । “यस्तो सङ्कटको घडीमा प्रभावित नागरिकहरूको खोज, उद्धार, राहत र पुनर्स्थापना लागि नेकपा (एमाले) संसदीय दलले थप प्रभावकारी र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ,” बैठकमा नेता थापाले भन्नुभएको विज्ञप्तिमा उल्लेख छ।
उहाँले एमाले संसदीय दल प्रभावित नागरिकको साथमा रहेको प्रतिबद्धता व्यक्त गर्दै सरकारलाई खोज, उद्धार र राहतका काम अझ सशक्त, व्यवस्थित, संगठित र प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ।
बैठकले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाउनुभएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताको खोजीका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।
त्यस्तै, बाढीमा बेपत्ता भएका व्यक्तिको खोजीलाई तीव्रता दिन, फेला परेका शवको पहिचान गरी परिवारलाई जिम्मा लगाउन तथा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको छ ।
एमाले संसदीय दलले विपद्पछिको अवस्थाको स्थलगत अनुगमन, अन्तरनिकाय समन्वय र सरकारी कामलाई पारदर्शी तथा जवाफदेही बनाउन संसद्मा रहेका सबै संसदीय दल सहभागी हुने गरी सर्वदलीय विशेष संसदीय समिति गठनका लागि पहल गर्ने निर्णय गरेको हो।
बैठकले विपद्मा खोज तथा उद्धारमा खटिनुभएका नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तहका प्राविधिक टोली, एमाले तथा भ्रातृसंगठनका सदस्यसहित सम्पूर्ण स्वयंसेवकप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ।
राहतका लागि आर्थिक सहयोग गर्ने निर्णयसमेत बैठकले गरेको छ। एमाले संसदीय दलमा रहेका प्रत्येक सांसदको १५ दिन अर्थात् मासिक पारिश्रमिकको ४० प्रतिशत रकम पार्टी कोषमार्फत कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ।
प्रमुख सचेतक ऐनबहादुर महरद्वारा जारी विज्ञप्तिमा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना लागि राज्यका सबै संयन्त्रलाई थप सक्रिय र समन्वयात्मक रूपमा परिचालन गर्नुपर्नेमा जोड दिइएको छ।















प्रतिक्रिया दिनुहोस्