जनता टाइम्स

१६ भाद्र २०८३, मंगलवार २२:०९

आज चारवटा टनेलमा पस्यो संयुक्त टोली, तर उद्धारमा सफलता हात लागेन


काठमाडौं, भदौ १६। रसुवाको बाढीपछि बेपत्ता भएकाको खोजी तथा उद्धारका लागि मंगलबार संयुक्त टोली चारवटा टनेलमा प्रवेश गरे पनि कसैको उद्धार हुन सकेन ।

नेपाली सेनाका अनुसार मंगलबार हवाई तथा जमिनी खोजी अभियानबाट एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार गरिएको छ । तर टनेलभित्र भने बेपत्ता व्यक्तिको अवस्था पत्ता लगाउन टोली सफल हुन सकेन ।

चिलिमे हाइड्रोपावरको टनेलमा विदेशीसहित २६ जनाको संयुक्त खोज तथा उद्धार टोली प्रवेश गरेको थियो । टोली करिब १५० मिटरभित्र पुग्दा भिरालो भागदेखि टनेल पूर्णरूपमा पुरिएको अवस्थामा भेटिएको सेनाले जनाएको छ ।

त्यस्तै, अपर त्रिशूली–१ आयोजनाको हाँकूस्थित टनेलमा विदेशीसहितको संयुक्त टोली करिब १६० मिटरभित्र पुगेको थियो । तर टनेल टालिएको अवस्थामा भेटिएपछि थप अघि बढ्न नसकेको सेनाले जनाएको छ ।

त्रिशूली–३ ‘बी’ आयोजनाको टनेल हेडसमेत पहिचान गरिएको छ । तीनवटा स्काभेटर प्रयोग गरी माटो पन्छाएर कम्प्रेसर तथा रक ब्रेकरमार्फत इनलेट टनेलमा प्वाल पारिएको थियो । तर प्वालबाट अत्यधिक पानी आएको र उक्त स्थानबाट भित्र प्रवेश गर्न असम्भव देखिएपछि आउटलेटतर्फबाट पुनः प्वाल पार्ने काम भइरहेको सेनाले जनाएको छ ।

यसैगरी, त्रिशूली–३ ‘बी’ आयोजनाको कार्यालय तथा कर्मचारी निवासको स्थान पहिचान गरी एक्साभेटरमार्फत पहुँचमार्ग निर्माणको काम जारी रहेको छ ।

नुवाकोटमा २५० मिटर लामो तुइन जडान

बाढीबाट प्रभावित क्षेत्रमा आवागमन सहज बनाउन नेपाली सेनाको संयुक्त टोलीले तुइन निर्माणको कामसमेत अघि बढाएको छ ।

त्रिशूली नदीका प्रभावित पाँच स्थानमा तुइन निर्माण गर्ने योजनाअन्तर्गत नुवाकोटको विदुर–९ स्थित इन्द्रायणी घाटमा करिब २५० मिटर लामो तुइन जडान गरिएको सेनाले जनाएको छ ।

तुइन जडान भएपछि सम्पर्कविहीन तथा सडक पहुँचबाट प्रभावित क्षेत्रका नागरिकलाई बजार र अस्पतालसम्म पुग्न सहज भएको सेनाले जनाएको छ ।