काठमाडौं, १७ भदौ । रसुवाको भोटेकोशीमा एक हप्ताअघि आएको बाढीबाट करिब १६ लाख मानिस प्रभावित भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो प्रतिवेदनअनुसार रसुवा र नुवाकोट अति प्रभावित तथा धादिङ, गोरखा र चितवन मध्यम प्रभावित जिल्लाका रूपमा वर्गीकरण भएका छन् ।
प्राधिकरणका अनुसार बाढीमा परी हालसम्म १ हजार ५० जनाको मृत्यु पुष्टि भएको छ भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् । ११ हजार ९९३ जनाको सकुशल उद्धार गरिएको छ । त्यसमध्ये ४ हजारभन्दा बढीको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।
खोज तथा उद्धारमा २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् । उद्धार तथा खोजीका लागि भारत, चीन र दक्षिण कोरियाका टोलीसमेत परिचालन भएका छन् ।
बाढीबाट घाइते भएका २९२ जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार भएकामा १८२ जना डिस्चार्ज भइसकेका छन् ।
बाढीबाट रसुवा, नुवाकोट र धादिङका १९ विद्यालयमा अध्ययनरत ६ हजार ९०१ विद्यार्थी प्रभावित भएका छन् । तीमध्ये ८ विद्यालय पूर्ण र ८ विद्यालय आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने ३ विद्यालय सुरक्षित रहेको प्राधिकरणको तथ्याङ्क छ ।
रसुवाका स्याफ्रुबेंसी स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य चौकी, टिमुरे हेल्थ डेस्क रसुवागढी र मैलुङ सामुदायिक स्वास्थ्य एकाइ पूर्ण रूपमा ध्वस्त भएका छन् । गल्छीको बैरेनी अस्पताल र चरौंदी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आंशिक क्षति पुगेको छ ।
प्रतिवेदनअनुसार बाढीले ४१ वटा पक्की पुल पूर्ण रूपमा बगाएको छ भने थप ४ पुलमा क्षति पुगेको छ ।
नुवाकोटमा मात्रै १ हजार २६७ घर पूर्ण र १ हजार २५३ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । भोटेकोशी–त्रिशूली करिडोरका प्रभावित क्षेत्रमा ४ हजार ६८९ भवन जोखिममा परेको प्रारम्भिक अनुमान गरिएको छ ।
रसुवाका गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाका ३ हजार ७०२ घरधुरीका १४ हजार ४६१ नागरिक प्रभावित भएका छन् । उनीहरू सडक, विद्युत् र सञ्चार सेवाबाट विच्छेद भएर कठिन अवस्थामा रहेको प्राधिकरणले जनाएको छ ।
बाढीका कारण रसुवागढी, रसुवा–भोटेकोशी, चिलिमे, लाङटाङ खोला, माथिल्लो त्रिशूली–२, माथिल्लो त्रिशूली–१, मैलुङखोला, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, मध्य त्रिशूली गंगा, त्रिशूली, देवीघाट र सुपर त्रिशूलीलगायत जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।














प्रतिक्रिया दिनुहोस्