काठमाडौं, भदौ १७ । भदौ १० गते भोटेकोशीमा आएको बाढीका क्रममा विभिन्न स्थानबाट संकलन गरिएका ८५ शव काठमाडौंमा पुरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०८३ को पहिलो संशोधनअनुसार डीएनए नमुना सुरक्षित राखेर शवलाई ‘व्यवस्थापन संरक्षण’ गरिएको हो ।
ती शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएका थिए । शवहरू गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकास्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको वन क्षेत्रमा पुरिएका हुन् ।
शवको डीएनए नमुना सुरक्षित राखिएको र परीक्षणपछि आफन्तले दाबी गरेमा शव उपलब्ध गराइने प्रहरीले जनाएको छ ।
आफन्तले शवबारे जानकारी वा दाबी गर्न महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्ने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
शव व्यवस्थापन अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) को प्रोटोकलअनुसार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले बताएका छन् ।














प्रतिक्रिया दिनुहोस्