काठमाडौं, भदौ १७ । देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण प्रमुख राजमार्ग र सडकखण्डमा यातायात प्रभावित भएको छ । नेपाल प्रहरीले बुधबार बिहान ६ः३० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सडकमा आवागमन अवरुद्ध भएको छ ।
बागमती प्रदेशअन्तर्गत काभ्रेको बीपी राजमार्गमा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै खुर्कोट–नेपालथोक–काठमाडौं खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । उक्त सडकमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म यातायात बन्द रहनेछ भने बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म सडकको अवस्था हेरेर सवारी सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा बाढीका कारण त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त सडकमा अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालन बन्द रहने प्रहरीले जनाएको छ ।
नुवाकोटका विभिन्न सडकमा पनि बाढी तथा पहिरोको असर परेको छ । टोखा–छहरे, पासाङल्हामु तथा विदुर–लच्याङ सडकखण्डमध्ये केही पूर्ण रूपमा अवरुद्ध छन् भने केही सडकमा रातिको समयमा सवारी सञ्चालन रोकिएको छ ।
धादिङतर्फ पृथ्वी लोकमार्गअन्तर्गत बेनीघाट–रोराङ गाउँपालिका र गजुरी क्षेत्रमा पहिरोका कारण आवागमन प्रभावित भएको छ । पछिल्लो विवरणअनुसार बेनीघाट–रोराङ क्षेत्रमा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ ।
गण्डकी प्रदेशको लमजुङ तथा कर्णाली प्रदेशको मुगुमा पनि पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चा क्षेत्रमा मुगु–गमगढी सडक प्रभावित भएको छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशको बैतडीमा गोठालापानी–झुलाघाट सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । दशरथचन्द नगरपालिका क्षेत्रमा पहिरो खसेपछि उक्त सडकमा यातायात सञ्चालन प्रभावित भएको हो ।
प्रहरीले बाढी, पहिरो तथा वर्षाका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरेको छ । यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्र आवागमन गर्न प्रहरीले अनुरोध गरेको छ ।














प्रतिक्रिया दिनुहोस्