काठमाडौं, भदौ १७ । बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या १ हजार ११४ पुगेको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार बिहान ९ बजेसम्म देशका विभिन्न प्रभावित क्षेत्रबाट १ हजार ११४ जनाको शव फेला परेको हो।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा ३४८ जनाको शव फेला परेको छ। यस्तै, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र नुवाकोटमा १५५ जनाको शव फेला परेको छ।
यसैगरी गोरखामा ६६, धादिङमा ५९, तनहुँमा ३८ र रसुवामा ४१ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। फेला परेका शवमध्ये हालसम्म ९५ जनाको मात्र सनाखत गरी आफन्तलाई बुझाइएको छ।
बाढी तथा पहिरोपछि अझै ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुनेमा सरकारी कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, विदेशी नागरिक, स्थानीय बासिन्दा तथा जलविद्युत् आयोजनामा कार्यरत श्रमिकसमेत रहेका छन्।
हालसम्म ११ हजार ९९३ जनाको सफल उद्धार गरिएको छ। नेपाली सेनाको हवाई उद्धारमार्फत मात्रै ४ हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको उद्धार गरिएको छ।
बाढीपहिरोमा परी घाइते भएका २१२ जनामध्ये १८२ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
प्रभावित क्षेत्रमा उद्धार तथा सुरक्षाका लागि कुल २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ। परिचालित सुरक्षाकर्मीमध्ये नेपाली सेनाका ९ हजार १९९, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रहेका छन्।
प्रभावित क्षेत्रबाट उद्धार गरिएका ३ हजार ४५३ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। तीमध्ये सबैभन्दा धेरै नुवाकोटमा २ हजार ४६६ जना रहेका छन्।
बाढी तथा पहिरो प्रभावित क्षेत्रको राहत तथा पुनर्स्थापनाका लागि संघीय सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराएको जनाएकाे छ। त्यस्तै, अन्य १५ प्रभावित पालिकाका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको छ।














प्रतिक्रिया दिनुहोस्