काठमाडौं, भदौ १७ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘ग्रीन आर्मी नेपाल’ नामक संस्थाको वैधता, पृष्ठभूमि, आर्थिक स्रोत तथा गतिविधिबारे सरकारले स्पष्ट पार्नुपर्ने माग गर्नुभएको छ।
पोखरेलले विद्यालय–विद्यालयमा शाखा र ५२ जिल्लामा सञ्जाल रहेको दाबी गरिएको उक्त संगठनको संरचना र सञ्चालनबारे प्रश्न उठाउनुभएको हो। उहाँले ‘ग्रीन आर्मी’को गठन, उद्देश्य र आम्दानीको स्रोतबारे समेत सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने बताउनुभएको छ।
पोखरेलले सामाजिक सञ्जालमार्फत प्रश्न गर्दै भन्नुभएको छ, “‘ग्रीन आर्मी नेपाल’ नामक संस्थाको वैधता र पृष्ठभूमि के हो ? विद्यालय–विद्यालयमा शाखा र ५२ जिल्लामा सञ्जाल दाबी गरिएको यो कस्तो संगठन हो? यसको सञ्चालनका लागि आम्दानीको स्रोत के हो ?”
उहाँले उक्त संस्थालाई नेपाली सेनाले तालिम दिएको दाबीसहितका तस्बिर सार्वजनिक भएको भन्दै त्यसबारे समेत प्रश्न उठाउनुभएको छ। राष्ट्रिय सेवा दल (एनसीसी) र ‘ग्रीन आर्मी’बीचको सम्बन्धबारे स्पष्ट पार्नुपर्ने उहाँको भनाइ छ।
“यसलाई नेपाली सेनाले तालिम दिएको दाबीसहित तस्बिरहरू सार्वजनिक भएका छन्। नेपाली सेनाले विद्यालयहरूमा राष्ट्रिय सेवा दल (एनसीसी) गठन गर्ने त सबैलाई थाहा थियो, तर सेवा दलको सट्टा ‘ग्रीन आर्मी’ बनाउन थालिएको हो ?” पोखरेलले प्रश्न गर्नुभएको छ।
यदि त्यस्तो नभएको हो भने सेनाको जस्तै देखिने संरचना, पोसाक र शैलीको संगठन सञ्चालन गर्न दिनु उचित हो कि होइन भन्ने विषयमा समेत सरकारले स्पष्ट पार्नुपर्ने उहाँको भनाइ छ। “सेना जस्तै देखिने यस प्रकृतिको संगठन खोल्न र संगठित हुन दिनु कत्तिको उचित हो ? सरकारले यस विषयमा स्पष्ट पार्नुपर्छ,” पोखरेलले भन्नुभएको छ।
विपद्को उद्धारका लागि गठन गरिएको भनिएको संस्थाको गतिविधिमाथि पनि पोखरेलले प्रश्न उठाउनुभएको छ। मुलुक महाविपद् र उच्च जोखिममा रहेका बेला उक्त संगठनको भूमिका कहाँ थियो भन्ने प्रश्न गर्दै उहाँले जोखिम कम भएपछि मात्रै देखिने गतिविधिले आशंका बढाउने बताउनुभएको छ।
“यो संगठन विपद्को उद्धारका लागि भनिए पनि मुलुक महाविपद् र उच्च जोखिममा पर्दा यो कहाँ लुकेर बसेको थियो ? जब जोखिम घटेको छ, तब एक सातापछि अचानक चटक देखाउने शैलीमा यो मैदानमा उत्रिएको छ,” पोखरेलले भन्नुभएको छ।
यस्ता गतिविधिले राहत र उद्धारभन्दा समाजमा थप सन्देह तथा त्रास सिर्जना गर्न सक्ने भन्दै उहाँले सम्बन्धित निकायको तत्काल ध्यान जानुपर्नेमा जोड दिनुभएको छ। “यस्ता गतिविधिले समाजमा राहतभन्दा बढी सन्देह र त्रास मात्र फैलाउँछन्। यसमा सम्बन्धित निकायको ध्यान तुरुन्तै जानुपर्छ,” पोखरेलले भन्नुभएको छ।
‘ग्रीन आर्मी नेपाल’ले आफूलाई वातावरण संरक्षण, सामाजिक सेवा तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सक्रिय संस्था बताउँदै आएको छ। हालै बाढी प्रभावित क्षेत्रमा यसको गतिविधिबारे सार्वजनिक चासो बढेको छ।














प्रतिक्रिया दिनुहोस्