काठमाडौं, भदौ १७ । नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बेले भोटेकोशी बाढीपछि खोज, उद्धार तथा राहतमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै तत्काल गम्भीरतापूर्वक काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
आज प्रतिनिधि सभा बैठकमा धारणा राख्दै आङदेम्बेले भोटेकोशी बाढीबाट नेपालले अहिलेसम्मकै गम्भीर क्षति बेहोर्नुपरेको बताउँदै विपद्को समयमा सत्तापक्ष र प्रतिपक्ष नभनी सबै मिलेर नागरिकको जीवनरक्षामा जुट्नुपर्ने बताउनुभयो। “प्रभावकारी खोज, उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण गराउँछु,” उहाँले भन्नुभयो।
आङदेम्बेले विपद्को समयमा सरकारलाई सहयोग गर्न नेपाली कांग्रेसले प्रधानमन्त्री उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको जानकारी दिनुभयो। तर विपद् परेको भन्दै सरकारका कमजोरीमाथि प्रश्न गर्न छाड्न नसकिने उहाँको भनाइ थियो। “विपत् छ भन्दैमा सरकारलाई बाह्रैखत माफी दिन सकिँदैन। मौनता साँधियो भने हामी गैरजिम्मेवार भएको ठहरिन्छ,” उहाँले भन्नुभयो।
सरकारलाई कमजोर बनाउन नभई अझ प्रभावकारी बनाउन आफूहरूले प्रश्न गरिरहेको आङदेम्बेको स्पष्टोक्ति थियो। उहाँले विपद्को समयमा प्रचारभन्दा नागरिकको ज्यान जोगाउने कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। “हामी सरकारलाई कमजोर बनाउन होइन, प्रभावकारी बनाउन प्रश्न गर्दैछौँ। हामी प्रचार होइन, नागरिकको ज्यान बचाउन प्रभावकारी रूपमा लाग्नुपर्छ,” उहाँले भन्नुभयो।
सुरुङमा फसेकाको उद्धारमा ढिलाइप्रति आक्रोश
आङदेम्बेले बाढीपछि सुरुङमा फसेका नागरिकको खोज तथा उद्धारमा सरकारले गरेको ढिलाइप्रति तीव्र असन्तुष्टि जनाउनुभयो। निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय सहयोग लिनसमेत सरकारले ढिलाइ गरेको आरोप लगाउँदै उहाँले त्यसले सुरुङभित्र फसेका नागरिकको जीवन थप जोखिममा पारेको बताउनुभयो।
उहाँले सरकारको भूमिकामाथि प्रश्न गर्दै भन्नुभयो, “देशका कुनै मन्त्री वा उहाँका आफन्त सुरुङभित्र फसेका भए मन्त्रीज्यू सुरुङको बाहिर खनेर फोटो खिचाउन लाग्नुहुन्थ्यो कि खोज र उद्धारमा लाग्नुहुन्थ्यो?”
स्थानीय सरकारसँग समन्वय नगरेको, आफूले पनि प्रभावकारी खोज नगरेको र निजी क्षेत्रलाई समेत उद्धारमा जान नदिएको आरोप लगाउँदै उहाँले सात दिनपछि मात्रै सरकारले हात उठाएर आफैँ खोज्न भनेको टिप्पणी गर्नुभयो।
“सुरुङभित्र भएको मृत्यु हत्या हो कि मृत्यु ?” आङदेम्बेले प्रश्न गर्नुभयो।
‘सरकार सामाजिक सञ्जालमा अल्झियो, फिल्डमा पुगेन’
कांग्रेस संसदीय दलका नेता आङदेम्बेले सरकार विपद्को मैदानमा प्रभावकारी रूपमा खटिनुको सट्टा सामाजिक सञ्जाल र प्रचारमा बढी केन्द्रित भएको आरोप लगाउनुभयो।
“सरकार सामाजिक सञ्जालमा अल्झियो, फिल्डमा पुगेन। काम गर्न होइन, प्रचार मिलाउन लाग्यो,” उहाँले भन्नुभयो।
प्रधानमन्त्रीले प्रतिनिधि सभामा आएर सरकारका कुरा सुनाए पनि प्रतिपक्षका सुझाव र प्रश्न सुन्न नचाहेको आङदेम्बेको आरोप थियो।
उहाँले आफ्ना आफन्त र सर्वस्व गुमाएका अवस्थामा पनि स्थानीय जनप्रतिनिधिहरू प्रभावित क्षेत्रमा खटिरहेको उल्लेख गर्दै संघीय सरकारले प्रदेश र स्थानीय तहसँग प्रभावकारी समन्वय गर्न नसकेको बताउनुभयो।
पीडितको संवेदनाप्रति गम्भीर हुन आग्रह
बाढीपीडितका शव व्यवस्थापनसम्बन्धी केही अभिव्यक्तिप्रति समेत आङदेम्बेले असन्तुष्टि जनाउनुभयो। पीडित परिवारको संवेदनालाई ध्यानमा राखेर सार्वजनिक अभिव्यक्ति दिनुपर्ने उहाँको भनाइ थियो।
“पीडितका शव एक–एक वटा घरका फ्रिजमा राख्न एक–एकवटा पठाइदिऊँ भनेर सत्तारूढ दलका नेताले भन्दा पीडित परिवारको कति मन दुख्ला, एक पटक ध्यान जाओस्,” उहाँले भन्नुभयो।
तीनवटा तहले कार्यविभाजन गरेर काम गराैँ
भोटेकोशी बाढीले प्रभावित क्षेत्रका नागरिकको जीवनयापनको आधार नै भत्काएको उल्लेख गर्दै आङदेम्बेले अब संघ, प्रदेश र स्थानीय तीनै तहले स्पष्ट कार्यविभाजन गरेर काम गर्नुपर्ने प्रस्ताव गर्नुभयो। “यो बाढीले त्यहाँका नागरिकको जिउने आधार नै भत्काएको छ। त्यसैले अब तीनवटै तहले कार्यविभाजन गरेर काम गरौँ,” उहाँले भन्नुभयो।
उहाँले विपद् आएपछि मात्र उद्धार र राहतका लागि सक्रिय हुने वर्तमान प्रणाली परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो। विपद् व्यवस्थापनका लागि पूर्वतयारी, समन्वय, स्रोतसाधनको परिचालन र तत्काल उद्धार गर्न सक्ने संयन्त्रलाई बलियो बनाउनुपर्ने उहाँको भनाइ थियो।
आङदेम्बेले विपद्को समयमा राजनीतिक आरोप–प्रत्यारोपभन्दा माथि उठेर नागरिकको जीवनरक्षा, उद्धार, राहत र पुनर्स्थापनालाई साझा दायित्वका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो।














प्रतिक्रिया दिनुहोस्