काठमाडौं, भदौ १७ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले मुलुकले लगातार गम्भीर सङ्कट र विध्वंसको सामना गरिरहेको भन्दै राष्ट्रिय सहमति र सामूहिक प्रयासबाट वर्तमान सङ्कटको समाधान खोज्नुपर्ने बताउनुभएको छ।
प्रतिनिधि सभाको आजको बैठकमा धारणा राख्दै थापाले गएको भदौ २३ र २४ गते भएको मानव सिर्जित भयानक विध्वंसको एक वर्ष पूरा नहुँदै अर्को ठूलो विध्वंस र पीडा भोग्नुपरेको बताउनुभयो। यस्तो अवस्थामा निराश भएर बस्ने नभई शोकलाई शक्तिमा बदल्दै नयाँ ढङ्गबाट अघि बढ्नुपर्ने उहाँको भनाइ थियो। “यसबाट बाहिर निस्कन अब शोकलाई शक्तिमा बदल्नुपर्ने अवस्था आएको छ। मानव अस्तित्व नै संकटमा परेको अवस्थामा अब हामी नयाँ ढङ्गले अघि बढ्न आवश्यक छ,” थापाले भन्नुभयो।
उहाँले वर्तमान सङ्कट समाधानका लागि प्रधानमन्त्रीको शासनशैलीमा समेत गुणात्मक परिवर्तन आवश्यक रहेको बताउनुभयो। सरकार संसद्प्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्ने र आफ्ना योजना तथा कामकारबाहीबारे संसद्लाई निरन्तर जानकारी गराउनुपर्ने उहाँको माग थियो। “प्रधानमन्त्रीले एकाङ्की शासन शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्छ। संसद्प्रति पूर्ण उत्तरदायी भई आफ्नो योजनाबारे निरन्तर जानकारी गराउनुपर्दछ,” उहाँले भन्नुभयो।
थापाले मुलुकमा देखिएको सङ्कटको समाधान कुनै एक दल वा सरकारको प्रयासबाट मात्र सम्भव नहुने बताउनुभयो। त्यसका लागि राष्ट्रिय सहमति कायम गर्दै राज्यले सर्वपक्षीय संयन्त्र निर्माणको पहल गर्नुपर्ने उहाँको भनाइ थियो। “राष्ट्रिय सहमतिबाट नै विद्यमान सङ्कटको समाधान गर्न सकिन्छ। राज्यले सर्वपक्षीय संयन्त्र निर्माणको पहल गर्नुपर्दछ,” उहाँले भन्नुभयो।
सामूहिक र संगठित प्रयासबाट मात्रै विपद् तथा सङ्कटको सामना गर्न सकिने भन्दै थापाले सरकार, संसद्, राजनीतिक दल, नागरिक समाज तथा सम्बन्धित सबै पक्षलाई एउटै उद्देश्यका साथ परिचालन गर्नुपर्नेमा जोड दिनुभयो।
थापाले सरकारलाई सचेत गराउन तथा आवश्यक सहयोग गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्न सभामुखसमक्ष आग्रह गर्नुभयो।
उहाँका अनुसार उक्त समितिले सरकारका उद्धार, राहत, पुनर्स्थापना तथा सङ्कट व्यवस्थापनका कामको अनुगमन गर्नुका साथै आवश्यक सुझाव र सहयोग प्रदान गर्न सक्नेछ।
विपद्बाट भएको क्षति न्यूनीकरण तथा पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै थापाले परराष्ट्र मन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्न सरकारसँग माग गर्नुभयो। अन्तर्राष्ट्रिय सहयोग, क्षतिपूर्ति तथा त्यससम्बन्धी समन्वयलाई व्यवस्थित बनाउन विशेष संयन्त्र आवश्यक रहेको उहाँको भनाइ थियो।
थापाले तत्काल उद्धार तथा राहत कार्यलाई तीव्रता दिन रक्षा मन्त्रीको नेतृत्वमा युनिफाइड स्पेसल टास्क फोर्स गठन गर्नुपर्ने प्रस्ताव गर्नुभयो। विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका कामलाई युद्धस्तरमा सञ्चालन गर्न राज्यका विभिन्न सुरक्षा तथा उद्धार संयन्त्रलाई एकीकृत रूपमा परिचालन गर्नुपर्ने उहाँले बताउनुभयो।
विपद् प्रभावित भौतिक संरचना तथा नागरिकको जीवनयापन पुनर्स्थापित गर्न दीर्घकालीन पुनर्निर्माणको योजना आवश्यक रहेको थापाले बताउनुभयो। उहाँले अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गरी पुनर्निर्माणको काम अघि बढाउन सरकारलाई सुझाव दिनुभयो।
जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका विपद्का घटनालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउनुपर्नेमा पनि थापाले जोड दिनुभयो। उहाँले जलवायु परिवर्तनबाट उत्पन्न सङ्कटको सामना गर्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता जुटाउने र आवश्यक रणनीति तय गर्ने उद्देश्यले सगरमाथा संवादको दोस्रो चरण अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो।
थापाले वर्तमान सङ्कटलाई केवल तत्कालीन उद्धार र राहतको विषयका रूपमा नहेरी राष्ट्रिय क्षमता अभिवृद्धि, पूर्वतयारी, पुनर्निर्माण तथा जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरणको दीर्घकालीन रणनीतिसँग जोडेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो।














प्रतिक्रिया दिनुहोस्