काठमाडौं, भदौ १७ । नेकपा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशीसहित मुलुकका विभिन्न क्षेत्रमा आएको विपत्तिको सामना गर्न सरकारको उद्धार तथा राहत कार्य प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभएको छ।
प्रतिनिधि सभाको आजको बैठकमा धारणा राख्दै प्रचण्डले नेपालले अहिलेको जस्तो ठूलो विपत्ति यसअघि कहिल्यै भोग्नुपरेको थिएन भन्दै सङ्कटको यस घडीमा आफूहरू सरकारको साथमा रहेको बताउनुभयो। तर विपद् व्यवस्थापनमा सरकारबाट अपेक्षित समन्वय र जनपरिचालन हुन नसकेको उहाँको भनाइ थियो। “सङ्कटको यो घडीमा हामी सरकारको साथमा छौँ। तर केन्द्र सरकारसँगै प्रदेश र स्थानीय सरकार परिचालन गरिएन भने यो समस्या समाधान गर्न सकिँदैन,” प्रचण्डले भन्नुभयो।
बाढी आएको दिन प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियता देखिए पनि त्यसपछिको उद्धार तथा राहत कार्यमा सरकारले नागरिकलाई पर्याप्त विश्वासमा लिएर काम गर्न नसकेको उहाँले बताउनुभयो।
प्रचण्डले नेपाली सेनाले ज्यान जोखिममा राखेर उद्धार तथा राहतमा काम गरेको भन्दै प्रशंसा गर्नुभयो। तर विपद्को समयमा राज्यका सबै संयन्त्रसँगै आम नागरिकलाई समेत परिचालन गर्नुपर्नेमा सरकार चुकेको उहाँको भनाइ थियो । “सेना परिचालन भयो, जनपरिचालन भएन,” उहाँले भन्नुभयो।
उहाँले प्रदेश र स्थानीय सरकारलाई प्रभावकारी रूपमा परिचालन नगरी केन्द्रबाट मात्रै विपद्को सामना गर्न खोज्दा समस्या समाधान गर्न कठिन हुने बताउनुभयो। प्रचण्डले सरकारको उद्धार कार्यप्रति जनस्तरमा असन्तुष्टि बढेको भन्दै खोज तथा उद्धार कार्यमा सरकार असफल भएको बताउनुभयो । “जनपरिचालन र उद्धारमा सरकार असफल भयो। सरकारले घमण्ड गरेर हुँदैन, यसबाट पाठ सिक्नुपर्छ,” प्रचण्डले भन्नुभयो।
सरकारमा ‘हामी आफैँ गर्छौँ’ भन्ने अहङ्कार देखिएको भन्दै उहाँले विदेशी तथा अन्तर्राष्ट्रिय पक्षले सहयोग गर्ने इच्छा व्यक्त गर्दा समेत त्यसलाई पर्याप्त रूपमा उपयोग गर्न नसकेको जनगुनासो रहेको बताउनुभयो।
विपद्का बेला सुरुङभित्र फसेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति पनि प्रचण्डले गम्भीर असन्तुष्टि व्यक्त गर्नुभयो। “ढिलो भयो। टनेलमा जे देखियो, अन्तिममा हामीले सकेनौँ भनेर हाम्रो सुरक्षा निकायले हात उठाउने जुन अवस्था आयो, त्यो हाम्रो लागि लज्जाजनक छ,” उहाँले भन्नुभयो।
उद्धार कार्यमा देखिएको कमजोरीबाट सरकारले पाठ सिक्नुपर्ने भन्दै प्रचण्डले आगामी दिनमा विपद् व्यवस्थापनको संयन्त्र र कार्यशैलीमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो।
प्रचण्डले अब सरकारको मुख्य प्राथमिकता राहत तथा पुनर्निर्माण हुनुपर्ने बताउनुभयो। प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै भत्किएका संरचना र जनजीवनलाई पुरानै अवस्थामा फर्काउने गरी दीर्घकालीन योजना बनाउनुपर्ने उहाँको भनाइ थियो। “अब राहत र पुनर्निर्माणमा सरकार गम्भीर बनोस्। समन्वय र सहकार्य गरेर सरकार अगाडि बढोस्। अझै मौका छ,” उहाँले भन्नुभयो।
नेपालले भोगिरहेको प्राकृतिक विपत्तिलाई जलवायु परिवर्तनसँग जोडेर अन्तर्राष्ट्रिय तहमा वातावरणीय न्यायको मुद्दा उठाउनुपर्ने प्रचण्डले बताउनुभयो। उहाँका अनुसार नेपालले मात्रै प्रयास गरेर जलवायुजन्य सङ्कट समाधान गर्न सम्भव छैन।
त्यसैले जलवायु परिवर्तनबाट बढी प्रभावित नेपालजस्ता मुलुकका लागि अन्तर्राष्ट्रिय सहयोग र न्यायको विषयलाई प्रभावकारी रूपमा उठाउन आवश्यक रहेको उहाँको भनाइ थियो। “वातावरण न्यायको कुरा नेपालले अन्तर्राष्ट्रिय रूपमा उठाएन भने एक्लैले यो समस्या समाधान गर्न सक्दैन,” प्रचण्डले भन्नुभयो।
प्रचण्डले विपद् व्यवस्थापनमा जापानले अपनाएको प्रणालीबाट नेपालले सिक्नुपर्ने सुझावसमेत दिनुभयो। जापानमा तलदेखि माथिसम्म समन्वय गर्ने संयन्त्र रहेको र त्यसले प्रभावकारी रूपमा काम गर्ने उल्लेख गर्दै उहाँले नेपालले पनि त्यस्तै समन्वित प्रणाली विकास गर्नुपर्ने बताउनुभयो।
उहाँले जापान लगायत अन्तर्राष्ट्रिय अनुभवसँगै नेपालका विगतका विपद् व्यवस्थापनका अनुभवबाट समेत सिकेर सहकार्य, समन्वय र समझदारीका आधारमा आगामी चुनौतीको सामना गर्नुपर्ने बताउनुभयो।
प्रचण्डले विपद्को समयमा राजनीतिक मतभेदभन्दा माथि उठेर सरकार, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, निजी क्षेत्र तथा नागरिक समाजबिच समन्वय कायम गर्न सके मात्रै प्रभावित नागरिकलाई प्रभावकारी रूपमा राहत र पुनर्स्थापना गर्न सकिने धारणा राख्नुभयो।
सरकारको मुख्य नेतृत्व प्रधानमन्त्रीले अरूको त परै जाओस् आफ्नै दलका सांसदलाई समेत विश्वासमा लिन नसकेको उहाँले बताउनुभयो । ‘उहाँ संसदमा आउनु हुन्छ कसैको पनि अनुहार नहेरी हिँड्नु हुन्छ । यो के हो तरिका ?’ दाहालले भन्नुभयो ।
संकटमा सरकार देखिनु पर्ने बताउँदै उहाँले सरकार फेसबुकमा मात्र देखिएको बताउनुभयो। ‘फेसबुकमा लेखेर तपाईँहरूले चुनाव त जित्नुभयो तर यो विपत्तिलाई जित्न सकिँदैन’, उहाँले भन्नुभयो ।
उहाँले प्रधानमन्त्री बालेन्द्र साह यही हिसाबले चले समयले माफी नदिने बताउनुभयो । ‘तपाईँहरूले प्रधानमन्त्री त बनाउनुभयो यस्तै हिसाबले चल्ने हो भने उहाँलाई पनि समयले पर्खँदैन’, दाहालले भन्नुभयो ।














प्रतिक्रिया दिनुहोस्