जनता टाइम्स

१७ भाद्र २०८३, बुधबार १५:२४

विपद्का बेला नेतृत्व आफैँ दौडिने होइन, राज्यका सबै संयन्त्र परिचालन गर्नुपर्छ : गणेश पराजुली 


काठमाडौं, भदौ १७। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीले विपद्का समयमा आफ्नै पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उहाँले विपद्का समयमा नेतृत्व स्वयं उद्धारमा खटिनुभन्दा राज्यका सम्पूर्ण संयन्त्रलाई नागरिकको जीवनरक्षामा केन्द्रित गर्नुपर्ने धारणा राख्नुभयो। संकटको समयमा नेतृत्वले तत्काल सही निर्णय गर्ने, आवश्यक जनशक्ति परिचालन गर्ने र अवरोध हटाउने भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो। प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्वयंसेवकले राज्य र नेतृत्व आफ्नो साथमा दृढतापूर्वक उभिएको अनुभूति गर्न सक्नुपर्ने उहाँको भनाइ थियो।

उहाँले सरकारले उद्धारकर्मीलाई साहस, सम्बन्धित निकायलाई स्पष्ट निर्देशन र नागरिकलाई भरोसा दिन सक्नुपर्ने बताउनुभयो। विपद्का समयमा राज्यसँग उपलब्ध सबै संयन्त्र परिचालन गरी खोज, उद्धार तथा राहत वितरणलाई थप प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

उहाँले भन्नुभयो, ‘संकटको समयमा नेतृत्वको भूमिका स्वयं सबै काम गर्न दौडिने मात्र होइन। सही ठाउँमा सही निर्णय र व्यक्तिलाई परिचालन गर्ने, आवश्यक निर्णय तत्काल गर्ने, अवरोध हटाउने र सम्पूर्ण संयन्त्रलाई नागरिकको जीवनरक्षामा केन्द्रित गराउने हो।’

नेतृत्वले विपद्का समयमा आफ्नो स्थान नछाडी कमाण्ड, कोअर्डिनेसन र कम्युनिकेसनको श्रृंखला बलियो बनाउनुपर्ने उहाँले बताउनुभयो। ‘संकटको बेला पदमा रहनु मात्र नेतृत्व होइन, आफ्नो जिम्मेवारी पहिचान गरी त्यसमा अडिग रहँदै प्रत्येक निकायलाई जिम्मेवार र परिणाममुखी ढंगले परिचालन गर्न सक्नु पनि वास्तविक नेतृत्वको परीक्षा हो,’ उहाँले भन्नुभयो।