काठमाडौं, भदौ १७ । सभामुख डीपी अर्यालले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रदेश र स्थानीय तहसँगै नागरिक समाज तथा सरोकारवाला सबै पक्षसँग समन्वय र सहकार्य गर्न सरकारलाई निर्देशन दिनुभएको छ।
आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले सरकारका नाममा यस्तो निर्देशन दिनुभएको हो। उहाँले प्रस्तुत गर्नुभएको विशेष प्रस्ताव प्रतिनिधि सभा बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ।
सभामुख अर्यालले राष्ट्रिय शोकको यस घडीमा सबै पक्षबीच ऐक्यबद्धता कायम राख्दै तीनवटै तहका सरकार, राजनीतिक दल, नागरिक समाज तथा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिनुभएको छ।
उहाँले बाढीका कारण विस्थापित नागरिकलाई तत्काल पुनर्स्थापना गर्ने तथा घाइतेहरूको उचित र शीघ्र उपचारको व्यवस्था मिलाउनसमेत सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
सभामुख अर्यालले बाढीमा परी ज्यान गुमाउनुभएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्नुभएको छ। साथै, उहाँले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै विस्थापित नागरिकको उचित व्यवस्थापन तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्