काठमाडौं, भदौ १७ । नेकपा एमालेले भोटेकोशी बाढीपछि उत्पन्न संकट समाधानका लागि सर्वपक्षीय संयन्त्र र विशेष संसदीय समिति गठन गर्नुपर्नेसहित संसद्मा सातवटा प्रस्ताव अघि सारेको छ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले विपद् व्यवस्थापन, उद्धार, राहत तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन सरकारसमक्ष विभिन्न प्रस्ताव राख्नुभएको हो।
उहाँले प्रधानमन्त्री बालेन शाहको एकांकी शासन शैलीमा गुणात्मक परिवर्तन आवश्यक रहेको बताउनुभएको छ। सरकार संसद्प्रति उत्तरदायी हुनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ।
“राज्यको प्रमुख नेतृत्व प्रधानमन्त्रीले एकांकी शासन शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्छ। संसद्प्रति उत्तरदायी हुनुपर्छ,” बादलले भन्नुभयो।
एमालेले विपद्बाट उत्पन्न समस्या समाधानका लागि सर्वपक्षीय संयन्त्र गठन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। त्यस्तै, सरकारलाई आवश्यक निर्देशन दिन विशेष संसदीय समिति गठन गर्नुपर्ने माग पनि गरिएको छ।
पुनर्निर्माणको कामलाई व्यवस्थित र प्रभावकारी बनाउन अर्थमन्त्रीको संयोजकत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने एमालेको प्रस्ताव छ।
बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका कामलाई तीव्रता दिन सरकार र सबै राजनीतिक दलबीच समन्वय आवश्यक रहेको एमालेले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्