काठमाडौं, भदौ १७। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोटेकोशीस्थित सुरुङभित्र फसेका नागरिकको उद्धारमा सरकारले चरम लापरबाही गरेको आरोप लगाएको छ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको ढिलासुस्ती र असंवेदनशीलताका कारण सुरुङभित्र फसेकाहरूको समयमै उद्धार हुन नसकेको बताउनुभएको हो।
उहाँले सम्बन्धित आयोजना, निजी क्षेत्र तथा विषय विज्ञलाई उद्धारमा सहभागी हुन नदिएको आरोप लगाउँदै सात दिनपछि मात्रै सरकारले सुरुङभित्र आफैं खोजी गर्न आग्रह गरेको भन्दै प्रश्न उठाउनुभयो।
“सम्बन्धित आयोजना र निजी क्षेत्रलाई जान नदिने, विषय विज्ञको कुरा नसुन्ने, आफू एक्सन नगर्ने, अरूलाई गर्न नदिने ! अनि सात दिन बितिसकेपछि सरकारले हात उठाएर सुरुङमा आफैं खोज भन्ने ?” आङदेम्बेले प्रश्न गर्नुभयो।
उहाँले सरकारको असंवेदनशीलता र ढिलाइका कारण सुरुङभित्र ज्यान गुमाएकाहरूको मृत्यु स्वाभाविक मृत्यु हो कि हत्या भन्ने गम्भीर प्रश्नसमेत उठाउनुभयो।
“यो सरकारको असंवेदनशीलता र ढिलाइका कारण ती सुरुङभित्र भएको मृत्यु, मृत्यु हो कि हत्या ?” उहाँले भन्नुभयो।
विपद्को समयमा कांग्रेस सरकारको साथमा रहेको स्पष्ट पार्दै आङदेम्बेले सरकारलाई साथ दिनु भनेको सरकारले गरेका सबै गल्तीलाई माफी दिनु नभएको बताउनुभयो।
प्रधानमन्त्रीले संसद्मा गरेको सम्बोधनमा सबै कुरा सामान्य र ठीकठाक भएजस्तो देखाइएको भए पनि वास्तविक अवस्था त्यस्तो नरहेको उहाँको भनाइ थियो।
उहाँले विपद् व्यवस्थापन, उद्धार तथा राहतका क्रममा भएका कमजोरीको गम्भीर समीक्षा गर्दै प्रभावित नागरिकको उद्धारलाई पहिलो प्राथमिकतामा राख्न सरकारसँग माग गर्नुभयो।














प्रतिक्रिया दिनुहोस्