काठमाडौं, भदौ १७ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ।
बुधबार अध्यक्ष ओलीले धादिङको गल्छी क्षेत्रमा पुगेर बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित स्थानीय बासिन्दाको अवस्था र उनीहरूले भोगिरहेका समस्याबारे जानकारी लिनुभएको हो।

निरीक्षणका क्रममा उहाँले प्रभावित स्थानीयको गुनासोसमेत सुन्नुभएको थियो। स्थानीय बासिन्दाले उद्धार, राहत तथा पुनर्स्थापनाका क्रममा देखिएका समस्या र तत्काल आवश्यक सहयोगबारे अध्यक्ष ओलीलाई जानकारी गराएका थिए।
बाढी प्रभावित क्षेत्रमा एमालेसम्बद्ध जनवर्गीय संगठनहरू राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) र प्रवासी नेपाली मञ्च (ओएनएफ) लगायतका टोली उद्धार तथा राहत कार्यमा सक्रिय रहेका छन्।
धादिङको निरीक्षणपछि अध्यक्ष ओलीले नुवाकोटको बेलकोटगढी नगरपालिकाका विभिन्न प्रभावित स्थानको समेत अवलोकन गर्नुभएको छ।

त्यहाँ उहाँले बाढीका कारण भएको भौतिक क्षति, प्रभावित नागरिकको अवस्था तथा राहत वितरणको अवस्थाबारे जानकारी लिनुभएको थियो।
बाढी तथा पहिरोका कारण धादिङ, नुवाकोटसहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाको काम जारी छ।














प्रतिक्रिया दिनुहोस्