जनता टाइम्स

१७ भाद्र २०८३, बुधबार २०:०८

अनेरास्ववियुले रसुवाका बाढीपीडितलाई आफैँ पुगेर बाँड्यो राहत


रसुवा, भदौ १७ नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले भोटेकोशी बाढीबाट प्रभावित रसुवाका नागरिकलाई राहत सामग्री वितरण गरेको छ।

अनेरास्ववियुका उपमहासचिव कमल जोशी र सचिव गोपाल नेपालको नेतृत्वमा काठमाडौंँबाट दुई गाडीमा लगिएको राहत सामग्री कालिका गाउँपालिकाको कार्यालयमा पुगेर हस्तान्तरण गरिएको हो।

अनेरास्ववियुका सचिव गोपाल नेपालका अनुसार अस्कल क्याम्पस कमिटीको पहलमा राहत सामग्री संकलन गरिएको थियो। संकलित सामग्री लिएर टोली भदौ १५ गते काठमाडौंँबाट रसुवातर्फ प्रस्थान गरेको र भदौ १६ गते प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरिएको हो।

उहाँले राहत भनेको खाद्यान्न तथा सामग्री पुर्‍याउनु मात्र नभई विपद्को कठिन समयमा पीडितको मनमा आशा जगाउनु, आत्मीयता बाँड्नु र उनीहरू एक्लो छैनन् भन्ने अनुभूति दिलाउनु पनि भएको बताउनुभयो।

अनेरास्ववियुले हिमालय कालिका क्याम्पसमा रहेका बाढीपीडित परिवारलाई प्रत्यक्ष भेटेर राहत सामग्री वितरण गरेको थियो। बाँकी सामग्री भने एकमुष्ट रूपमा कालिका गाउँपालिकाको कार्यालयलाई हस्तान्तरण गरिएको उपमहासचिव कमल जोशीले जानकारी दिनुभयो।

अनेरास्ववियुले वितरण गरेको राहत सामग्रीमा ५० थान सिरक, ३० थान ठूलो डसना, दुई भाग जेन्स तथा लेडिज कपडा र जुत्ता, ५० कार्टुन चाउचाउ, ५० किलो चिउरा, २० कार्टुन औषधि, १० कार्टुन फलफूल, ८५ बोरा सानो साइजका कपडा तथा ६७ बोरा ठूलो र मिडियम साइजका ट्र्याकसुट रहेका छन्।

यसअघि अनेरास्ववियुका पूर्वनेता प्रकाश पौडेल नेतृत्वको टोलीले उत्तरगया गाउँपालिका कार्यालयमा सोलार जडान गरेर मंगलबार नै काठमाडौं फर्किएको जनाइएको छ।