जनता टाइम्स

१८ भाद्र २०८३, बिहीबार ०७:४५

प्रभु बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गर्यो २ करोड ११ लाख सहयोग


काठमाडौं, भदौ १८ । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरुको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि दुई करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

मिति २०८३ भाद्र १० गते बिहान रसुवा जिल्ला भएर बग्ने भोटेकोशी नदीमा अचानक आएको विनाशकारी बाढीले भोटेकोशी र त्रिशुली नदी किनारमा रहेका बासिन्दाहरुलाई अपुरणीय मानविय तथा भौतिक क्षति पुर्याएको छ ।

सो बाढीबाट उत्पन्न विनाशकारी विपदले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्याएको परीपेक्षमा विपदको यस दुःखद् घडीमा पीडित एवं प्रभावित परीवारहरुका लागि सहायता स्वरुप तथा पिडितहरुको खोजतलास, उद्धार र राहत कार्यमा सहयोग पुगोस भन्ने उद्धेश्यले बैंक प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल सरकार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्माहुने गरी अर्थमन्त्रीडा. स्वर्णिम वाग्लेलाई दुई करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।

उक्त कार्यक्रममा बैंकको तर्फबाट अध्यक्ष किशोरजङ्ग कार्की, संचालक राजु पौडेल, संचालक डा. अम्बिका शर्मा लामिछानेको पनि उपस्थिति रहेको थियो ।

प्रभु बैंकले बाढीको अकल्पनीय विपद्का कारण ज्यान गुमाउनु हुने स्वदेशी तथा विदेशी नागरिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै सम्पर्कविहिन र घाइतेहरुको उद्धार तथा शीघ्रउपचारको कामना गर्दै प्रभावित समुदायप्रति बैंकले गहिरो समवेदना प्रकट गरेको छ ।