जनता टाइम्स

१८ भाद्र २०८३, बिहीबार ०८:२१

बालेनलाई असफल बनाउन उनकै वरिपरिका मानिस जिम्मेवार छन् : हर्क साम्पाङ


काठमाडौं, भदौ १८। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र साह बालेनलाई आफ्नो सुझावलाई गम्भीरतापूर्वक लिन आग्रह गर्नुभएको छ। उहाँले शाहलाई आफ्ना सल्लाहकारको सुझावसँगै आफूले सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै आएका विचार र सुझावलाई समेत ध्यान दिन आग्रह गर्नुभएको हो।

अध्यक्ष साम्पाङले आफू र शाह पुराना साथी भएको उल्लेख गर्दै महानगर प्रमुखका रूपमा शाहले विगतमा फोहोर व्यवस्थापनमा समस्या भोगेको प्रसंग स्मरण गराउनुभएको छ। बन्चरेडाँडामा फोहोर लैजान रोकिएको समयमा आफूले गरेको आलोचनापछि शाह फोहोर व्यवस्थापनको काममा केन्द्रित भएको उहाँको दाबी छ।

उहाँले आफूले गर्ने आलोचनालाई केवल आलोचनाका रूपमा नबुझी त्यसमा समेटिएको सुझावलाई पनि बुझ्न आग्रह गर्नुभएको छ। यसपटक पनि आफूले उद्धारसम्बन्धी विषयमा सुझाव दिएको उहाँले बताउनुभएको छ।

अध्यक्ष साम्पाङले शाहलाई सफल बनाउन आफूले सहयोग गर्न चाहेको बताउँदै उहाँको असफलतामा आफ्नै वरिपरिका व्यक्तिहरूको भूमिका हुन सक्ने टिप्पणी गर्नुभएको छ। उहाँले आफ्ना सुझावअनुसार अघि बढ्न शाहलाई आग्रहसमेत गर्नुभएको छ। ‘मुखले I love you भन्दिनँ, शब्दमा होइन व्यवहारमा मेरो माया छ’ भन्ने धारणा व्यक्त गर्दै अध्यक्ष साम्पाङले आफूले शाहप्रति व्यक्त गर्ने आलोचना र सुझाव उहाँको हितकै लागि भएको बताउनुभएको छ।

उहाँले शाहलाई आफूलाई बाहिरी रूपमा मात्र नहेरी आफ्ना सुझावको भावनालाई बुझ्न आग्रह गर्नुभएको छ। असल मित्रका रूपमा आफूले टाढै बसेर आलोचना गरे पनि शाहलाई सही ठाउँ र सही भूमिकामा ल्याउन चाहेको उहाँको भनाइ छ।

अध्यक्ष साम्पाङले आफ्ना सुझावको मर्म बुझ्न ढिला हुन सक्ने भन्दै शाहलाई गम्भीरतापूर्वक सोच्न आग्रह गर्नुभएको छ।