जनता टाइम्स

१८ भाद्र २०८३, बिहीबार ११:२८

प्रधानमन्त्रीको बोलीले पीडितलाई दियो झनै पीडा


काठमाडौं, भदौ १८ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को संसद सम्बोधनले भोटेकोशी बाढीपीडितका परिवारलाई थप पीडा दिएको छ । बुधवारको प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले जलबिद्युत आयोजनाको सुरुङमा फसेकाहरूलाई उद्धार गर्ने बिषयमा दिनुभएको अभिब्यक्तिले पीडितलाई मर्माहत बनाएको हो ।

भोटेकोशीमा भदौ १० गते आएको बाढीमा सुरुङमा थुनिएका आफन्तको उद्धार सरकारले गर्छ र ज्यान बच्छ भन्दै कुरेर बसेका परिवार र आफन्त प्रधानमन्त्रीले संसदमै उद्धार गर्न नसकिने प्रष्टै सन्देश दिएपछि मर्माहत बनेका हुन ।

‘प्रधानमन्त्रीले सिधै उद्धार गर्न सकिदैन भन्ने कुरा कसरी गर्न सके होलान ? यो त हामीलाई जिउँदै मार्ने काम भयो,’ आफन्तको खोजीमा अस्पतालमा टाँसिरहेको फोटो हेरेर बसेका बेपत्ताका आफन्तहरूले जनताटाइम्स डटकमका प्रतिनिधिसँग भने । उनीहरूले सरकार प्रमुखले नै संसदमा उद्धारको प्रविधि संसारभर नै छैन भनेर उद्धार गर्दिन भन्ने घोषणा गरेको रुपमा आफूहरूले बुझेको र यो कुराले अत्यन्तै मर्माहत बनेको बताए ।

प्रधानमन्त्री शाहले बुधवार संसदमा रसुवा र नुवाकोटमा रहेका जलविद्युत आयोजनामा पसेको बाढीको विषयमा विश्वभरिकै देशसँग उद्धार गर्ने विज्ञता नरहेको बताउनु भएको थियो । भदौ १० गते भोटेकोशी–त्रिशूलीमा आएको बाढीका विषयमा प्रतिनिधि सभा बैठकलाई जानकारी गराउँदै प्रधानमन्त्री शाहले विश्वको कुनै पनि देशसँग नेपालमा आएको प्रकृतिको बाढीबाट उद्धार गर्ने क्षमता नरहेको दावी गर्नुभएको हो । शाहका अनुसार जलविद्युत आयोजनाका टनेलमा लेदोसहितको बाढी पसेकाले पनि कठिन भएको छ ।

‘अहिले टनेलमा फस्नु भएको विषयमा पनि धेरै चर्चा आएको हुँदाखेरि, यो टनेलमा आएको विपत्ति विशेष किसिमको छ । विश्वभरि टनेलमा कुनै विपद् आउँदाखेरि विश्वभरि पाइने एक्सपर्टहरूचाहिँ टनेलमा आउने पहिरोलाई पन्छाएर उद्धार गर्ने एक्सपर्टिज विश्वभरि नै छ । तर योचाहिँ फरक किसिमको किन हो भन्दा, यो पहिरोले प्रभावित भएको अथवा पहिरोले थुनिएको टनेल होइन, यो बाढी भित्र पसेर बाढीसँगै हिलो, माटोहरूले पूरै कम्प्लिटली पूर्ण रूपमा थुनिएका टनेलहरू हुन,’ प्रधानमन्त्री शाहको भनाई थियो ।

उहाँका अनुसार अन्य राष्ट्रमा उद्धार गरिएका घटनाहरू भन्दा नेपालको फरक किसिमको हो जुन उद्धार गर्न संभव नै छैन ।‘विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए, त्यो भन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो र त्यसको लागि जुन बेलामा पायक पर्छ, जतिबेला मौसमले साथ दिन्छ, जतिबेला त्यो हिलो थोरै सुक्छ, जतिबेला त्यहाँनिर अडिने ठाउँ हुन्छ र मान्छेहरू बस्न सक्ने, त्यसलाई ब्रेक गर्न सक्ने ठाउँ हुन्छ, त्यो बेला मात्रै गर्न सकिन्छ,’ प्रधानमन्त्री शाहले भन्नुभयो । उहाँले टनेलभित्र एकै पटक धेरै एक्साभेटर प्रयोग गर्न सुझाव आए पनि त्यो सम्भव नभएको बताउनु भयो ।

प्रधानमन्त्रीको यो भनाईले पीडितको मुटुमा छुरा धसेको छ । अव ज्यान बचाउन सकिदैन भन्दै घरमा कोलाहल मच्चाएर आफैलाई थप निराश बनाउनु बाहेक पीडित परिवारका सदस्यसँग अरु बिकल्प छैन । बाढी आएको ८ दिनपछि उद्धारको प्रयाश जारी रहेको जानकारी दिएर बस्नुभएका प्रधानमन्त्रीले नै उद्धार गर्न सकिन्न भन्ने खालेको भनाई दिएपछि पीडितको आशा पनि मरेको छ । सरकारले अव बचाउने काम गर्दैन भन्ने बुझाइले ठूलो आत्मग्लानी पनि भएको छ पीडितलाई । तर सरकार प्रमुखले पीडितको यो पीडालाई सामान्य रुपमा महसुससमेत नगरेको अनुभूति सदनको सम्बोधनमा देखिएको छ ।