काठमाडौं, भदौ १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले भोटेकोशी बाढीपछि उत्पन्न विपद्को समयमा सरकारप्रति सबै राजनीतिक दलले देखाएको सद्भाव र सहयोगको भावना अनुकरणीय रहेको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले विपद्को समयमा राजनीतिक दलहरूले देखाएको एकता स्वागतयोग्य रहेको उल्लेख गर्दै आगामी दिनमा पनि संकटका बेला यस्तै एकता कायम हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भोटेकोशी बाढीपछिको विपद्को घडीमा रास्वपा नेतृत्वको सरकारप्रति सबै दलले देखाएको सद्भाव अनुकरणीय छ । राजनीतिक रूपमा जुन चरित्र देखियो, त्यो स्वागतयोग्य छ । भविष्यमा पनि संकटको बेला यस्तो खालको एकता देखियोस् ।”
सांसद झाले बाढीका कारण विपत्तिमा परेका नागरिकलाई सहयोग गर्न समाज एकजुट भएको बताउनुभयो । आर्थिक रूपमा कमजोर नागरिकसमेत राहत संकलनमा जुटेको उल्लेख गर्दै उहाँले विपत्तिको समयमा नागरिकस्तरबाट देखाइएको मानवीय भावना प्रशंसनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो बाढीमा समाज जोडिएको छ । एक छाक खान नपुग्नेहरूले समेत राहत संकलन गर्दै हुनुहुन्छ ।”
बाढी तथा विपद्को समयमा आफ्नो ज्यान जोखिममा राखेर उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मीको भूमिकाको पनि सांसद झाले प्रशंसा गर्नुभयो । तर, सुरक्षाकर्मीलाई आवश्यक आधारभूत सुविधा र सामग्रीसमेत राज्यले उपलब्ध गराउन नसकेको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपाल प्रहरीजस्ताे सुरक्षा निकायलाई राज्यले एउटा हेलिकप्टरसम्म दिन नसक्नु बिडम्बनापूर्ण रहेकाे उहाँकाे भनाइ छ ।
सांसद झाले जलवायु परिवर्तनका कारण नेपालले ठूलो असर व्यहोर्नुपरेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारसँग माग गर्नुभयो । कार्बन उत्सर्जनमा नेपालको योगदान नगन्य भए पनि जलवायु परिवर्तनको प्रभावको ठूलो भार नेपालमाथि थोपरिएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “कार्बन उत्सर्जनमा नगन्य भूमिका रहेको नेपालले जलवायु परिवर्तनको प्रभावको यति ठूलो भार किन हामीमाथि थोपरिँदैछ भन्ने कुरा प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय फोरममा उठाउनुपर्छ । नेपालले यसको क्षतिपूर्तिका लागि दाबी गर्नुपर्छ ।”
भोटेकोशी बाढीले पुर्याएको क्षति तथा त्यसपछि उत्पन्न विपद्लाई तत्कालीन राहत र उद्धारसँगै जलवायु परिवर्तनका कारण नेपालमा बढ्दै गएको जोखिमसँग जोडेर दीर्घकालीन रूपमा सम्बोधन गर्नुपर्नेमा सांसद झाले जोड दिनुभएको छ ।














प्रतिक्रिया दिनुहोस्