जनता टाइम्स

१८ भाद्र २०८३, बिहीबार १९:४१

मन्त्रिपरिषद्का सात निर्णय :  भदौ २२ गते राष्ट्रिय शोक, २३ मा सार्वजनिक 


काठमाडौं, भदौ १८ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा तथा तत्कालीन उद्धार र राहत कार्यका लागि एसियाली विकास बैङ्क (एडिबी)बाट प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले  सो निर्णय गरेको हो । मन्त्रिपरिषद्ले भोटेकोशी बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन एकीकृत व्यवसाय पुनर्स्थापना योजनाअन्तर्गत राहत, कर तथा महसुलमा सहुलियतलगायतका सुविधा उपलब्ध गराउने निर्णयसमेत गरेको छ।

त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत कुल २५ हजार मेट्रिक टन चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति दिने निर्णय भएको छ।

भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ। उद्धारका क्रममा घाइते हुनेलाई निःशुल्क औषधि उपचार तथा मृत्यु भएमा मृतकका परिवारलाई प्रतिमृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको छ।

सरकारले विसं २०८३ भदौ २३ गते ‘जेनजी शहीद दिवस’का अवसरमा नेपालभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।यसैगरी, विसं २०८३ भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रअन्तर्गत रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु भएका व्यक्तिहरूको सम्मानमा भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय भएको छ। उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।

मन्त्रिपरिषद्ले नेपाल प्रशासन सेवा, समूहिकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा नारायणप्रसाद भट्टलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशको मुख्यसचिव पदमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ।