जनता टाइम्स

१८ भाद्र २०८३, बिहीबार २०:०८

उद्धारस्थलमा सांसदको उपस्थितिमाथि प्रश्न, सागर ढकाल र श्रीराम न्यौपानेलाई तत्काल फर्कन रास्वपाकाे निर्देशन


काठमाडौं, भदौ १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले सुरुङमा फसेकाहरूको उद्धारमा खटिएका पार्टीका सांसदद्वय सागर ढकाल र श्रीराम न्यौपानेका कारण उद्धार कार्यमा अवरोध सिर्जना भएको भए तत्काल फर्किन निर्देशन दिनुभएको छ।

उद्धारमा खटिएका प्राविधिकहरूले सांसदद्वयको उपस्थितिका कारण उद्धार कार्य असहज भएको भन्दै उजुरी गरेपछि पार्टीले उहाँहरूलाई फर्किन निर्देशन दिएको हो।

सांसद न्यौपाने सुरुङसम्बन्धी इन्जिनियर तथा सांसद ढकाल आर्किटेक्ट इन्जिनियर भएकाले उहाँहरू फिल्डमा पुगेर उद्धार कार्यमा समन्वयकारी भूमिका निर्वाह गरिरहनुभएको पार्टीको बुझाइ रहेको उपनेता पराजुलीले बताउनुभयाे।

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सांसदद्वय प्राविधिक ज्ञानका आधारमा फिल्डमा पुगेर समन्वय गरिरहनुभएको जानकारी दिनुभएको हो। उपनेता पराजुलीले उहाँहरूको उपस्थितिका कारण उद्धार कार्यमा अप्ठ्यारो परेको पुष्टि भएमा तत्काल फिर्ता बोलाउने निर्णय सभापति रवि लामिछानेसहितको बैठकले यसअघि नै गरिसकेको बताउनुभयाे । 

उहाँले उद्धार कार्यलाई सहज बनाउन आफूले संसदीय दलको उपनेताको हैसियतमा सांसदद्वयलाई तत्काल आफ्नो जिम्मेवारीमा फर्किन निर्देशन दिएको स्पष्ट पार्नुभयाे । ‘उहाँहरूका कारणले त्यहाँ अप्ठ्यारो भएको रहेछ भने आफ्नो जिम्मेवारीमा फर्किन र त्यहाँ सहज रूपमा काम गर्न दिनका लागि मैले संसदीय दलको उपनेताको हैसियतले निर्देशन जारी गरेँ,’ उहाँले भन्नुभयो।