काठमाडौं, भदौ १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले भोटेकोशी नदीमा आएको बाढीपछि सञ्चालन भइरहेको खोज, उद्धार तथा राहत कार्यको समीक्षा गर्दै विपद् व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
आज भएकाे बैठकले बाढीबाट प्रभावित नागरिकहरूको सुरक्षित उद्धार, घाइतेहरूको उपचार तथा विस्थापितहरूका लागि आवश्यक राहत सामग्रीको न्यायोचित वितरणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिएको पार्टी प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
रास्वपाले राष्ट्रिय विपत्तिको सामना राज्यको एकल प्रयासबाट मात्र सम्भव नहुने भन्दै विपद्को यस कठिन घडीमा सरकारद्वारा सञ्चालन भइरहेका उद्धार तथा राहत कार्यमा पार्टीका सम्पूर्ण संरचनाबाट हुँदै आएको समन्वयात्मक सहयोगलाई निरन्तरता दिने निर्णयसमेत गरेको छ।
त्यस्तै, सरकारका सकारात्मक तथा परिणाममुखी कदममा रास्वपासहित अन्य राजनीतिक दलहरूलाई समेत सहभागी गराई सर्वदलीय संयन्त्रमाफर्त संस्थागत सहयोग जुटाउन पार्टीले निरन्तर पहल गर्ने निर्णय गरेको छ।
बैठकले पार्टीको आर्थिक सुशासन तथा व्यवस्थापनमा निवर्तमान कोषाध्यक्ष लिमा अधिकारीले पुर्याउनुभएको योगदानको कदर गर्दै उहाँलाई धन्यवाद ज्ञापन गरेको छ। नवनियुक्त कोषाध्यक्ष डा. मनोहर प्रधानलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै नयाँ जिम्मेवारी हस्तान्तरण गरिएको रास्वपाले जनाएको छ। पार्टीले डा. प्रधानको कार्यकालमा आर्थिक व्यवस्थापन थप सुदृढ, पारदर्शी र चुस्त हुने विश्वास व्यक्त गरेको छ।
यसै अवसरमा सहमहामन्त्री पुरुषोत्तम शुभप्रभात यादव, प्रवक्ता जगदीश खरेल तथा नवमनोनित सचिवालय सदस्यहरू शिशिर खनाल, गणेश पराजुली, दीपकराज बोहरा, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, मनिष झा र शिव नेपालीलाई पार्टी सभापति रवि लामिछानेले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो।














प्रतिक्रिया दिनुहोस्