जनता टाइम्स

१९ भाद्र २०८३, शुक्रबार ०८:००

त्रिशूली थ्रि ए काे सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनियो, उद्धार कार्य तीव्र


काठमाडौं, भदाै १९ । भोटेकोशीमा आएको बाढीका कारण  १० दिनदेखि त्रिशूली थ्रि ए काे सुरुङभित्र थुनिनुभएका मजदुरहरूको उद्धारका क्रममा भित्रबाट मानिसहरूको आवाज सुनिएको जानकारी प्राप्त भएको छ।

प्रतिनिधि सभा सदस्य श्रीराम न्यौपानेले उद्धारमा खटिनुभएका नेपाली सेनाका टोलीबाट सुरुङभित्रबाट मानिसको आवाज आएको जानकारी प्राप्त भएको बताउनुभएको छ। उहाँका अनुसार सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ।

उद्धार टोलीले सुरुङभित्र रहेका व्यक्तिहरूलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको न्यौपानेले जानकारी दिनुभएको छ। यो घटनालाई उद्धारका लागि आशाजनक संकेतका रूपमा लिइएकाे छ । 

उहाँका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ। उद्धार कार्य अझै जारी रहेको र थुनिनुभएका मजदुरहरूलाई सकुशल बाहिर निकाल्न उद्धार टोली सक्रिय रूपमा खटिरहेको उहाँले बताउनुभएको छ।

न्यौपानेले आफू हिजो साँझसम्म इन्जिनियरको भूमिकामा साइटमै रहेर खोजी तथा उद्धार कार्यमा संलग्न रहेको जानकारी दिनुभएको छ। अब सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुरसम्म पुग्ने र त्यसपछि गाडीमार्फत काठमाडौं फर्कने तयारीमा रहेको उहाँले बताउनुभएको छ।

उहाँले उद्धार कार्यमा खटिनुभएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोली तथा सम्पूर्ण उद्धारकर्मीप्रति सम्मान व्यक्त गर्नुभएको छ। साथै, सुरुङभित्र थुनिनुभएका मजदुरहरूको सकुशल उद्धारको सुखद खबर छिट्टै सुन्न पाइने आशा व्यक्त गर्नुभएको छ।