काठमाडौं, भदौ १९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश संगठन कमिटीले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई थप व्यवस्थित बनाउन विभिन्न समिति गठन गरेको छ।
पार्टी केन्द्रीय कार्यालयको परामर्शमा बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनासम्बन्धी कार्यलाई अझ व्यवस्थित, द्रुत र सहज बनाउन प्रदेश कमिटीले ‘बाढीपीडित उद्धार, राहत तथा पुनर्स्थापना सहयोग समिति’ गठन गरेको हाे। सम्बन्धित जिल्ला कमिटीका अध्यक्षको संयोजकत्वमा गठन गरिएको समितिमा जिल्ला कमिटीका पदाधिकारी, सम्बन्धित स्थानीय तहका सम्पूर्ण कमिटी अध्यक्ष तथा सम्बन्धित जिल्लाका जनसंगठनका अध्यक्षहरू सदस्य रहने व्यवस्था गरिएको छ।
त्यसैगरी, साे कार्यकाे लागि सल्लाहकार समिति समेत गठन गरिएको छ। पार्टी केन्द्रले तोकेको सम्बन्धित जिल्ला इन्चार्जको संयोजकत्वमा गठन हुने उक्त समितिमा सम्बन्धित जिल्लाभित्रका केन्द्रीय सदस्यहरू तथा केन्द्रीय निकायका सदस्यहरू रहने पार्टीका बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलले जारी गर्नुभएकाे विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश कमिटीका अनुसार गठित समितिहरूले तत्कालैदेखि विपद्प्रभावित क्षेत्रमा आवश्यक सहयोग, समन्वय र परिचालनको कार्य अघि बढाउनेछन्। पार्टीले यस कठिन परिस्थितिको सामना गर्न पार्टीका सम्पूर्ण तहका कमिटी, जनप्रतिनिधि, जनसंगठन, सामुदायिक संघ–संस्था, स्वयंसेवक तथा शुभेच्छुकहरूलाई एकताबद्ध भएर उद्धार, राहत तथा पुनःस्थापनाको अभियानमा सक्रियतापूर्वक जुट्न आह्वानसमेत गरेको छ।
एमाले बागमती प्रदेश संगठन कमिटीले भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीका कारण प्रभावित जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा घाइतेहरूप्रति शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, बेपत्ता नागरिकहरूको तीव्रताका साथ खोजी गर्न तथा प्रभावितहरूका लागि तत्काल आवश्यक राहत र पुनर्स्थापनाको व्यवस्था मिलाउन सम्बन्धित निकायसमक्ष आग्रह गरेको छ।
घटना भएलगत्तैदेखि एमाले बागमती प्रदेश कमिटी, जिल्ला तथा पालिका कमिटीहरू र जनसंगठनहरूले सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य गर्दै उद्धार र राहत वितरणको काम निरन्तर गरिरहेको पार्टीका प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलले जारी गर्नुभएकाे प्रेस विज्ञप्तिमा उल्लेख छ ।














प्रतिक्रिया दिनुहोस्