जनता टाइम्स

१९ भाद्र २०८३, शुक्रबार १३:१९

पीडितलाई राहत पुर्‍याउनु पहिलो प्राथमिकता हो, सरकारी कोषमा थन्क्याउनु होइन : केपी ओली


काठमाडौं, भदौ १९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीपीडितका लागि राहत जुटाएर प्रत्यक्ष रूपमा पीडितसम्म पुर्‍याउनु अहिलेको प्राथमिकता भएको बताउनुभएको छ।

एमालेको तर्फबाट रसुवाका भोटेकोशी बाढीपीडितका लागि पठाइने राहत सामग्री पार्टी केन्द्रीय कार्यालयमा हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीले आफ्नै पहलमा नगद तथा जिन्सी गरी करिब १ करोड २० लाख रुपैयाँभन्दा बढीको राहत वितरण गर्ने तयारी गरेको जानकारी दिनुभयो।

उहाँले सरकारी कोषमा राहत रकम जम्मा गर्दा तत्काल पीडितसम्म नपुग्ने भएकाले पहिलो प्राथमिकता पीडितको घरदैलोसम्म राहत पुर्‍याउने रहेको बताउनुभयो। “हामीले सरकार कोषमा जम्मा नै गर्दैनौँ भनेका होइनौँ, अहिले सरकारी कोषमा जम्मा गरिदियो त्यहाँ जम्मा भएर बस्छ पीडितले पाउँदैनौँ, पहिलो त हामीले पीडितकोमा राहत पुर्‍याउँछौँ, सरकारी कोषलाई राहत चाहिएको होइन, पीडितलाई चाहिएको हो, त्यसैले हामी पहिला पीडितकोमा राहत पुर्‍याउँछौँ, पछि सकियो भने हैसियत अनुसार सरकारी कोषमा पनि जम्मा गर्छौँ”, उहाँले भन्नुभयो । 

अध्यक्ष ओलीले उद्धार र राहतसँगै पुरिएका घरबाट सामान तथा सम्पत्ति निकाल्ने र पुनर्निर्माणको काममा समेत ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले बाढीका कारण जनधन तथा भौतिक संरचनामा ठूलो क्षति भएकाले सबै मिलेर पीडितको सेवामा जुट्नुपर्ने धारणा राख्नुभयो।

उहाँले विपद्को समयमा कृत्रिम वा एआईबाट बनाइएका दृश्य प्रयोग गरेर लोकप्रिय बन्न खोज्नुभन्दा वास्तविक रूपमा जनताको सेवामा लाग्नुपर्ने बताउनुभयो। “यस्तो बेला पनि कोही एआइले बनाएको विभिन्न दृश्य बनाएर जनताको सेवक बनेको देखाउन खोजिरहेका छन्, हामी यतिबेलो लोकप्रिय बन्ने होइन जनतालाई कसरी सेवा गर्न सकिन्छ त्यो काममा लाग्नु पर्छ”, अध्यक्ष ओलीले भन्नुभयो।

कार्यक्रममा अध्यक्ष ओलीले उद्धारका क्रममा देखिएको भनिएको ‘ग्रिन आर्मी’ सम्बन्धमा समेत प्रश्न उठाउनुभयो। उहाँले उक्त समूहको गठन, परिचालन, तालिम, पोसाक तथा खर्चका विषयमा सरकारले, नेपाली सेना र सुरक्षा निकायले स्पष्ट पार्नुपर्ने बताउनुभयो।  ‘अहिले केही रहस्यपूर्ण र गम्भीरतापूर्वक लिनु पर्ने क्रियाकलाप भएका छन्, २०७२ को भूकम्पमा समेत राहत पुर्‍याएका थियौँ भनेर अहिले ग्रिन आर्मीको रूपमा देखिएका छन्, २०७२ को भूकम्पमा, कोभिडको समयमा त्यो संस्था थिएन, गत वर्ष रसुवामा बाढी आउँदा पनि त्यो संस्था थिएन, गत भदौ २३, २४ को घटनामा पनि त्यो जनशक्ति त्यो युनिफर्ममा देखिएन, सायद अर्कै युनिफममा थिए कि,  यस बारेमा नेपाली जनताले गम्भीर ध्यान दिनुपर्छ, के हो ग्रिन आर्मी भनेको ?’, उहाँले प्रश्न गर्नुभयो । 

उहाँले आफू प्रधानमन्त्री भएका बेला उक्त संस्था गठन भएको भन्ने चर्चाप्रति पनि असन्तुष्टि जनाउँदै संस्था दर्ता गर्ने काम प्रधानमन्त्रीको प्रत्यक्ष जिम्मेवारी नभएको स्पष्ट पार्नुभयो। आफ्नो नाम अनावश्यक रूपमा जोडिएको भन्दै उहाँले यस विषयमा तथ्य सार्वजनिक गर्नुपर्ने बताउनुभयो।  ‘म प्रधानमन्त्री भएको बेला त्यो बनेको भन्ने पनि आएको छ, कसैले भ्रष्टाचार गरेको होला, केपी ओली भएको बेला गरेको भनेर मिल्छ ? कसले के के संस्था दर्ता गरेको छ, त्यो संस्था दर्ता गर्ने काम प्रधानमन्त्रीको हुन्छ ? मेरो नाम त्यहाँ किन ल्याएको ? संघ संस्था दर्ता गर्न त प्रधानमन्त्रीले गर्दैन, यी कुरा राम्ररी स्पष्ट पार्न जरुरी छ’, उहाँले भन्नुभयो । 

उहाँले सो संस्थासँग नेपाली सेनाको नाम पनि जोडिएको भन्दै यसबारेमा स्पष्ट पार्नुपर्ने माग गर्नुभयो । ‘उनीहरूलाई नेपाली सेनाले तालिम दिएको भनिएको छ, सेनाले त विद्यालय पढ्ने एनसीसीका विद्यार्थीलाई तालिम दिन्छ, भूपूआर्मीको लुच फोरम पनि छ, केही अघि निक्कै सजधजका साथ कार्यक्रम गरेको देखिएको थियो । यो उद्धारमा त्यो पनि देखिएको छैन, कोही व्यक्तिगत तवरमा खटिएको होला तर त्यो फोरम खटिएको देखिएको छैन, चुस्ता लगाएर एक प्रकारको आर्मी युनिफर्ममा चुस्ता र दर्ज्यानी चिन्न सहित देखिएका छन्, भोलेण्टियरको दर्ज्यानी चिन्ह यो के हो ? उनीहरूलाई आर्मीले, सशस्त्र प्रहरीले, प्रहरीले तालिम दिएको कुरा आएको छ, यसको खर्च कसले बेहोर्छ ? त्यो फौज ७० हजार छ भन्ने आएको छ त्यसको चुस्ता, बुटको खर्च कसले बेहोर्छ ?’, ओलीले प्रश्न गर्नुभयो । 

उहाँले त्यो शक्ति नेपाली जनतालाई आतङ्कित बनाउन रसुवामा प्रदर्शन गर्न पुर्याइएकाे बताउनुभयो ।  ‘यी सबै काम गोप्य भएका छन्, चुस्ता सहित एक दिन देखिए, उद्धारको लागि आएको हो भन्दा त्यस्तै त्यस्तै भनौँ न भने, फोटो खिचाए, प्रकट भए, यो नेपाली जनतालाई देखाउने खोजेको बाहेक अरू प्रयोजन देखिँदैन, थाहा छैन त्यस पछि उनीहरू कहाँ गएर बसेका छन्, यो सामान्य कुरा होइन,  यस सम्बन्धमा नेपाल सरकार, सेना र प्रहरीले प्रष्ट पार्नुपर्छ, नेपाली जनताले थाहा नै नपाई यस्तो काम किन भइरहेको छ ?’ उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विपद्को उद्धार तथा राहतमा गरिरहेको काम सम्मानयोग्य रहेको बताउँदै राष्ट्रिय सुरक्षाका संस्थालाई राजनीतिक विवादमा तान्ने प्रयासप्रति भने सचेत हुनुपर्ने धारणा राख्नुभयो।

उहाँले बाढीपीडितका लागि उद्धार र राहतसँगै पुनःनिर्माणको काम पनि अघि बढाउनुपर्ने बताउँदै पुनःनिर्माणका केही काम सुरु गरेकोमा बागमती प्रदेश सरकारलाई धन्यवाद दिनुभयो। साथै, सहयोग गर्ने स्वदेशी तथा विदेशी दाता, विभिन्न देश तथा राजनीतिक दलहरूले व्यक्त गरेको समवेदना र सहयोगप्रति पनि उहाँले आभार व्यक्त गर्नुभयो।

जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले विकसित राष्ट्रबाट जलवायुजन्य क्षतिको क्षतिपूर्तिको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने बताउनुभयो। हिमाल तथा पारिस्थितिक प्रणाली संरक्षणमा नेपालले विश्वको ध्यानाकर्षण गराउनुपर्ने उहाँको भनाइ थियो।

यसैबीच, एमाले सचिव महेश बस्नेतका अनुसार रसुवा र नुवाकोटका बाढी प्रभावित ४ सय परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ। राहत प्याकेटमा झुल, स्यानिटरी प्याड, साबुन, टुथब्रस–मञ्जन, कपडा, कम्बल–म्याट, चप्पल, खाद्यान्न, हर्लिक्स, फलफूल, लौरो तथा औषधिलगायत सामग्री रहेका छन्।

राहत सामग्री हस्तान्तरणपछि अध्यक्ष ओली बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान गर्नुभएको जानकारी पनि सचिव बस्नेतले दिनुभएको छ।