हेटौँडा, भदाै १९ । हेटौँडा–काठमाडौं जोड्ने भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडकखण्डलाई दीर्घकालीन वैकल्पिक मार्गका रूपमा विकास गर्ने काम अघि बढाइएको छ।
यात्रुहरूले भोग्दै आएको सडकको सास्ती र संकटलाई दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यले बागमती प्रदेश सरकारले उक्त सडकखण्डलाई तत्काल वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याउने गरी काम अघि बढाएको हो।
यसै क्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा, भौतिक पूर्वाधार विकासमन्त्री भरत केसी, मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठा तथा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामासहितको टोलीले सडकखण्डको स्थलगत निरीक्षण गरेको छ। निरीक्षणपछि सडकलाई तत्काल वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने गरी आवश्यक काम अघि बढाइएको जनाइएको छ।
चालु आर्थिक वर्षमै प्रदेश सरकारले उक्त सडकका लागि बजेटसमेत विनियोजन गरिसकेको छ। बजेट विनियोजनसँगै सडकलाई द्रुत गतिमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
कृष्णभीरमा गएको पहिरोका कारण मध्य र पश्चिमी नेपालबाट संघीय राजधानी काठमाडौं आवतजावतमा कठिनाइ उत्पन्न भएको अवस्थामा भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडकखण्ड महत्त्वपूर्ण वैकल्पिक मार्ग बन्ने अपेक्षा गरिएको छ।
उक्त सडकले हालको मुख्य सडकमा परेको सम्पूर्ण यातायातको चाप धान्न नसके पनि हेटौँडा–काठमाडौं यात्रालाई वैकल्पिक मार्गसहित थप सुरक्षित र सहज बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
सडकलाई व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन प्रदेश सरकार, स्थानीय तह र सम्बन्धित निकायबिच समन्वय र सहकार्य आवश्यक रहेको जनाइएको छ।














प्रतिक्रिया दिनुहोस्