जनता टाइम्स

२० भाद्र २०८३, शनिबार ११:०५

 भोटेकोशी विपत्तिको क्षतिपूर्ति अन्तर्राष्ट्रिय समुदायले तिर्नु पर्छ, सरकारको अभियानमा एमालेले सहयोग गर्छ : शंकर पोखरेल 


काठमाडौं, भदौ २० । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिलाई केवल प्राकृतिक विपत्तिका रूपमा हेर्न नहुने भन्दै यसको अन्तर्राष्ट्रिय न्यायपूर्ण निरूपणको माग गर्नुभएको छ । 

एमाले विशेष संगठन कमिटीले काठमाडौंको च्यासलस्थित केन्द्रीय कार्यालयमा शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा उहाँले विकसित औद्योगिक राष्ट्रबाट हुने अत्यधिक कार्बन उत्सर्जनको असर नेपालजस्ता विकासशील मुलुकले भोग्नुपरेको बताउनुभयो। जलवायु परिवर्तनसँग जोडिएका यस्ता विपत्तिका कारण नेपालले ठुलो मानवीय तथा भौतिक क्षति बेहोर्नुपरेको भन्दै उहाँले प्रभावित मुलुकलाई क्षतिपूर्ति उपलब्ध गराउने विषय अन्तर्राष्ट्रिय बहसको केन्द्रमा आउनुपर्ने बताउनुभयो । 

‘विकसित देशहरूले ठूला–ठूला उद्योग र आणविक भट्टीबाट अत्यधिक कार्बन उत्सर्जन गरे, त्यसको मार हामीजस्ता विकासशील देशहरूले भोग्नुपरेको छ,’ पोखरेलले भन्नुभयो, ‘नेपालमा भएको जनधनको क्षतिपूर्ति उनीहरूले तिर्नुपर्छ। यो न्यायको अभियानमा विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ।’

 भाेटेकाेशी बाढी पहिरोपछि नेपालले भोग्दै आएको विपत्तिलाई जलवायु न्याय र क्षतिपूर्तिको अन्तर्राष्ट्रिय मुद्दासँग जोड्नु पर्ने उहाँको धारणा छ ।  नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि त्यसको प्रतिकूल प्रभाव भने बढी भोगिरहेको तर्क गर्दै उहाँले एमालेले यस विषयलाई अन्तर्राष्ट्रिय तहमा उठाउनुपर्ने स्पष्ट पार्नुभयो । 

उद्धारपछि पुनर्स्थापना एमालेको साथ

महासचिव पोखरेलले बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापना एमालेका नेता–कार्यकर्ता सक्रिय रहेको बताउनुभयो । पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेपछि राहत तथा उद्धारका गतिविधिलाई थप तीव्र बनाइएको उहाँको भनाइ छ। ‘बाढी लगत्तै हाम्रा पार्टीका नेता तथा जनसंगठनहरू उद्धार तथा राहतमा अहोरात्र खटिएका छन्,’ उहाँले भन्नुभयो, ‘राहत सामग्री पीडितसम्म पुर्‍याउने काम पनि हामीले गरिरहेका छौँ।’

पोखरेलले विपत्तिपछिको तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। एमालेमा विगतका विपत्तिमा उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणको अनुभव भएका नेता–कार्यकर्ता रहेको उल्लेख गर्दै उहाँले रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा उक्त अनुभव परिचालन गर्ने बताउनुभयो । ‘सरकारले अघि सार्ने पुनर्स्थापना तथा पुनर्निर्माणका काममा एमालेको सहयोगी भूमिका रहन्छ,’ पोखरेलले भन्नुभयो।