काठमाडौं, भदौ २० । जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण सुरुङभित्र खोज तथा उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन स्विट्जरल्यान्डले नेपाललाई अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयको पहलमा प्राप्त ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको हो।
स्विट्जरल्यान्डको ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ले निर्माण गरेको यो ड्रोन अँध्यारा, साँघुरा तथा जोखिमपूर्ण सुरुङभित्र खोजी, निरीक्षण र उद्धारमा प्रयोग गर्न सकिने बताइएको छ।
विशेष सुरक्षा घेरासहितको ड्रोन सुरुङका भित्ता, चट्टान वा अन्य संरचनामा ठोक्किँदा पनि सुरक्षित रूपमा उडान जारी राख्न सक्ने क्षमताको छ। यसले सुरुङभित्रको अवस्था प्रत्यक्ष पहिचान गरी फसेका व्यक्तिको अवस्था बुझ्न, जोखिम मूल्याङ्कन गर्न र उद्धार रणनीति बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार उद्धारकर्तालाई सुरुङभित्र पठाउनुअघि सम्भावित जोखिम पहिचान गर्न यो प्रविधि महत्वपूर्ण हुनेछ।














प्रतिक्रिया दिनुहोस्