जनता टाइम्स

२० भाद्र २०८३, शनिबार २०:४२

बाढीले बगाएको रसुवास्थित नेपाल-चीन सीमामा फेरि फहरायो नेपालको झण्डा


काठमाडौं, भदौ २० । भोटेकोशीको विनाशकारी बाढीले रसुवाकाे नेपाल–चीन सीमा क्षेत्रमा भौतिक संरचनासँगै सीमा स्तम्भसमेत बगाएपछि अस्तव्यस्त बनेको सीमाक्षेत्रमा तीन दिनको निरन्तर प्रयासपछि फेरि नेपालको राष्ट्रिय झण्डा फहराइएको छ।

भदौ १० गते आएको बाढीले सीमा क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि नेपालको सीमा पहिचान गरी झण्डा पुनर्स्थापना गर्नु चुनौतीपूर्ण बनेको थियो। बाढीको प्रभाव र नदी कटान अझै जारी रहेकाले जोखिमपूर्ण भू–भागमा सीमा पहिचान गरी झण्डा गाड्ने काम सहज थिएन। तर, प्रतिकूल अवस्था र जोखिमको पर्वाह नगरी सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको समन्वयमा शनिबार नेपाली सीमाक्षेत्रमा नेपालको राष्ट्रिय झण्डा पुनः फहराइएको हो।

तीन दिनसम्मको निरन्तर प्रयासपछि सीमामा झण्डा पुनर्स्थापित गरिनुलाई विपद्का कारण क्षतिग्रस्त सीमाक्षेत्रमा नेपालको उपस्थिति र सीमा पहिचान कायम राख्ने महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

बाढीले संरचना बगाउन सक्छ, सीमा क्षेत्रमा भौतिक क्षति पुर्‍याउन सक्छ, तर राष्ट्रको सीमा र स्वाभिमानप्रतिको पहरेदारी कमजोर नहुने सन्देश सीमामा पुनः फहराइएको नेपालको झण्डाले दिएको छ। भोटेकोशीको भेलले सीमा क्षेत्रका संरचना बगाए पनि जोखिमपूर्ण परिस्थितिबीच सुरक्षाकर्मीले पुनः झण्डा फहराएर ‘सीमामा नेपाल’ को उपस्थितिलाई दृढतापूर्वक स्थापित गरेका छन्।